कांग्रेस-एमालेको बन्न लागेको नयाँ सत्तासमीकरणप्रति बालेनको कटाक्ष : ‘काले काले मिलेर खाऊँ भाले’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले नेपाली कांग्रेस र नेकपा एमालेको बन्न लागेको नयाँ सत्ता समीकरणप्रति कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले चिया पिउँदै गरेको फोटो राखेर व्यंग्यात्मक कटाक्ष गरेका हुन् ।

गएराति कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि नयाँ समीकरण बनाएर अघि बढ्ने सहमति भएपछि उनले मुलुकमा एकाएक विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर उक्त टिप्पणी गरेका हुन् । उनले लेखेका छन्,‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले ।’

गिरिबन्धु टी-स्टेट प्रकरणबारे कांग्रेस र एमालेले एकअर्कालाई आक्षेप लगाउँदै आएका थिए । तर अहिले सत्ता सहकार्यमा सहमति गरेका छन् । तत्कालीन सरकारमा रहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले टी-स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाउँदा ओलीले कांग्रेसले ७० बिघा जग्गा बेचेर कमिसन खाएको बताएका थिए । त्यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एक कार्यक्रममा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टी-स्टेट प्रकरणमा ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए ।