काठमाडौंको एभरेष्ट हस्पिटलले आगामी शनिबारदेखि बहिरंग थपसेवाको साथै बृहत रूपमा नि:शुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । अस्पतालले थप सेवासंगै शनिबारदेखि नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान शिविरबारे जानकारीको लागि पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा एभरेस्ट हस्पिटलका निर्देशक तथा प्रशासन प्रमुख दीपक चन्द्र बरालले लामो इतिहास बोकेको यो एभरेष्ट अस्पतालले समयानकुल सेवाहरु थप गर्दै आएको र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएकोले नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको बताएका छन् ।
‘असार २२ गते शनिबारका दिन अस्पताल मै स्थापित ब्लड बैंक सेवा सञ्चालनमा ल्याउने, मिर्गौला बिरामीको लागि हेमोडायलोसिस सेवाको शुरुआत गर्ने समेत बताए । सोही दिनदेखि अस्पतालमा स्थापना गरिको दन्त विभाग, नेत्र विभाग र आईसीयू समेत सञ्चालनमा ल्याउने निर्देशक बरालले बताए ।
‘तीन दशकदेखि निरन्तर सेवा प्रभाव गर्दै आएको एभरेष्ट नर्सिङ होमको नाममा स्थापित हस्पिटल बीचमा माउन्ट एभरेष्ट हस्पिटलको नामबाट पनि सञ्चालन भएको र हाल एभरेष्ट हस्पिटलको कै नामबाट सञ्चालन रहेको यो हस्पिटलको आफ्नै ईतिहास रहेको छ । निजी क्षेत्रबाट खुलेको यो हस्पिटल नेपालकै दोस्रो नर्सिङ होम भएको उल्लेख गर्दै निर्देशक बरालले बरिष्ठ न्युरो सर्जन स्वर्गीय डा.उपेन्द्र देवकोटाले पनि शल्यक्रिया यहि हस्पिटलबाट शुरुआत गरेको र छातीरोग विशेषज्ञ डा.रमेश चोखानीले पनि एभरेस्ट हस्पिटलबाट आफ्नो सेवा गरेको बताए । साथै, उनले बीचमा हल्का सेलाएता पनि अबको दिनमा पूर्ण रूपमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्ध व्यक्त गरेका छन् ।
सोही अवसरमा नि:शुल्क शिविर संयोजकले सुरज भुसालले शनिवार ५०० युनिट रगत संकलन गर्ने योजना रहेको बताएका छन् । सोको निम्ति हस्पिटलले विभिन्न ११ पार्टनर संस्थाको समन्वयमा नि:शुल्क आयोजना गरिने बताएका छन् । उनले आजभोलि रगतको अभाव रहेकोले एभरेस्ट हस्पिटलको बढी भन्दा बढी रगत संकलन गर्ने योजना रहेको बताए । संयोजक भुसालले एभरेष्ट हस्पिटलमा सञ्चालन हुन लागेको ब्लड बैंकमा ५०० देखि ८०० युनिटसम्म रक्त भण्डारको क्षमता रहेको समेत उल्लेख गरेका छन् ।
नि:शुल्कअन्तर्गत स्वास्थ्य शिविर अन्तर्गत सुगर, युरिया, क्रियाटिनिन जाँच, मिर्गौला जाँच, दन्त तथा आँखा जाँच पनि हुनेछ। नि:शुल्क स्वास्थ शिविरमा २०० जनालाई नि:शुल्क चस्मा, १५० जना महिलालाई नि:शुल्क स्यानिटरी प्याड, १५० जनालाई १०० रुपैयाँ शुल्कमा अल्ट्रासाउण्ड गरिने भएको छ। सोही दिनदेखि सञ्चालन हुन लागेको हेमोडायलासिस सेवा अन्तर्गत पहिले नाम दर्ता गराउने १० जनालाई नि:शुल्क सेवा दिने बताएको छ ।
शिविरमा जान चाहनेले ईमेल, फोन तथा एसएमएस मार्फत अस्पतालमा अग्रिम नाम दर्ता गर्न सक्ने व्यवस्था रहेको छ ।
शिविर आगामी शनिबार विहान ८ देखि दिउसो ३ बजेसम्म सञ्चालन हुने एभरेस्ट हस्पिटलले पत्रकार सम्मेलनमा बताएको छ । अत्याधुनिक मेसिन उपकरणको साथै दक्ष जनशक्तिले सुसज्जित १०० शैय्याको एभरेस्ट हस्पिटल बहिरङ्ग विशेषज्ञ स्वास्थ्य सेवा दिने नेपालकै नम्बर वान हस्पिटलको रुपमा अघि बढाउने योजना रहेको जानकारी दिइएको छ ।


















