कैदीबाटै झण्डै ३ करोड ठगी, यस्तो छ ठगीको रामकहानी

डिल्लीबजार कारागारमा छँदा दीपकप्रसाद चौलागाईं र केदार गौतमबीच चिनापर्ची भयो । त्यहीक्रममा केदारले दीपकका श्रीमतीको थर सोधे । दीपकले गौतम भने । यसपछि केदारले दीपकलाई ज्वाइँ भन्न थाले । थरगत रुपमा उनीहरूबीचको सम्बन्ध नजिक बन्यो । २०७८ को तिहारमा त दीपककी श्रीमती रीताले केदारलाई डिल्लीबजार कारागारमै गएर टीका लगाइ दिइन् ।

रामेछापको दोरम्बा–६ घर भएका ५० बर्से दीपक बैंकिङ कसुर मुद्दामा ११ दिन कैद र ११ लाख जरिवाना उच्च अदालत पाटनले सुनाइएपछि डिल्लीबजार कारागार पुगेका हुन् । सर्लाहीको रानीगञ्जका केदार २०७४ मा अदालतबाट ३३ करोड जरिवाना र ५ वर्ष कैद सुनाइएका कैदी हुन् । तर, कैद भुक्तान गरेको भने ६ वर्ष भइसकेको थियो । उनी २०७२ असारदेखि कारागारमै थिए । ५ वर्ष कैद तोकिएको तर ६ वर्षसम्म जेलमै रहेको सुनाएपछि दीपकले थप सोधखोज गरे । कारण खुल्यो, करिब ३३ करोड बिगो बुझाउन नसक्दा कैदमै बस्नु परेको ।

कैद बसेको ११ दिनमै छुटेर जाने दीपकले योजना सुनाए– जरिवानाको बन्दोबस्त म मिलाउँछु । अब कारागारबाट निस्कनुपर्छ । ३३ करोड जरिवाना तिर्न नसके पनि जायजेथा धरौटी राखेर निस्कन मिल्ने र त्यसका लागि केही रकम खर्च गर्नुपर्ने बताएपछि केदार तयार भए । केदारले दीपकलाई कारागारबाट रिहा भएपछि श्रीमती सम्झना र आफन्त लेखराज गौतमलाई भेट्न भने । सोहीअनुसार दीपकले दुवैले भेटे ।

धरौटीका लागि जग्गा राख्ने बताउँदै एक हप्तापछि कुरा गर्ने भनेर दीपक र लेखराज छुट्टिए । जग्गा मिलाएको भन्दै केदारसँग सुरुमा १५ लाख रुपैयाँ दीपकले मागे । केदारको घर गएर उनकी श्रीमती सम्झनामार्फत बलराम दंगाल नाम गरेको मानिसको १५ लाखको चेक दीपकले बुझे । यद्यपि उक्त चेक आफूले लेखराज गौतमलाई दिएको दाबी गरेका छन् ।

१५ लाख लिएको केही समयपछि फेरि सिन्धुपाल्चोकमा २२० रोपनी जग्गा मिलेको छ । लालपुर्जा समेत छ भन्दै आफूलाई म्यासेन्जरमा लेखराजले पठाएको दीपकले बताएका छन् । उक्त जग्गाको लालपुर्जा देखाएर फेरि केदारबाट २० लाख रुपैयाँ दीपकको समूहले लियो । केदारले निर्मला गौतममार्फत २० लाखको चेक दिएका थिए ।

तर, चेक साटेर लेखराज गौतमको नबिल बैंक लिमिटेडको खातामा जम्मा गरेको दाबी दीपकले प्रहरीसमक्ष गरेका छन् । दीपकले पैसा जति सबै लेखराजलाई दिएको दाबी गरेका उनै लेखराजको यही बीचमा मृत्यु पुग्यो । ३५ लाख रुपैयाँ केदारबाट लिइसकेपछि कोरोनाका कारण लेखराजको मृत्यु भएपछि अर्का व्यक्ति जोडिए मीनबहादुर बस्नेत ।

अब काम अघि बढेको भन्दै केदारमार्फत विभिन्न व्यक्तिबाट पटक पटक गरी अहिलेसम्म २ करोड १५ लाख रुपैयाँ यो समूहले लिन्छ । तर, काम भएन । बरु, उनीहरू सम्पर्कविहीन भए । मीनबहादुरले चाहिँ कारागारमै गएर केदारलाई भेटेर काम हुनेमा ढुक्क हुन भन्दै विश्वास दिलाए । थप जग्गा जुटाएर निकाल्ने काममा मीनबहादुरको औपचारिक प्रवेश भयो । त्यसपछि मीनबहादुरले सिन्धुपाल्चोककै थप जग्गाहरू खोजी गरिसकेको भन्दै लालपुर्जासमेत लिएर डिल्लीबजार कारागार पुग्छन् । केदारलाई निवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउन लगाउँछन् ।

काम अघि बढेको भन्दै २१ साउन २०७८ मा लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको चुणकुमार गौतमको नाममा खाता रहेको चेकमार्फत ५० लाख यो समूहले लगेको पीडित पक्षको दाबी छ । केदारले नै भने अनुसार आफूले पटक–पटक दीपकलाई ५० लाख दिएको बयान दिएका छन् । सुरज लामाले पनि दुई पटक गरेर २५ लाख दीपकलाई दिएको बताएका छन् । २ करोड १५ लाख तिर्दा पनि अहिलेसम्म बाबु कारागारमै रहेपछि उनका छोरा सिद्धार्थले प्रहरी वृत्त नयाँबानेश्वरमा १ जेठ २०८१ मा ठगीको जाहेरी दिएका थिए । १४ जेठमा काठमाडौंबाट दीपक र उनकी श्रीमती रीतालाई पक्राउ गरिएको नयाँबानेश्वर वृत्तका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले बताए । मीनबहादुर भने अहिलेसम्म फरार छन् ।

यो ठगी प्रकरणमा प्रहरी वृत्त नयाँबानेश्वरले मुद्दा दायर गरेको छ । वृत्तका प्रहरी निरीक्षक श्रेष्ठका अनुसार २ करोड १५ लाख माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।जसमा दीपक र उनकी श्रीमती ४७ वर्षीया रीताका साथै मकवानपुरको थाहा नगरपालिका–४ का मीनबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरिएको छ । श्रीमान्–श्रीमती पक्राउ परे पनि मीनबहादुर भने अहिलेसम्म फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको नयाँबानेश्वर वृत्तले जनाएको छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्तर्गतको ठगी कसुर गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ । जसमा ठगी बराबरको बिगो २ करोड १५ लाख भराउनुका साथै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना माग दाबी गरिएको छ ।त्यस्तै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क भराउन समेत मागदाबी गरिएको छ । उनीहरूलाई बयानका लागि आइतबार अदालत उपस्थित गराइएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासमा उनीहरूको बयान जारी छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ ।

पीडित केदार भने कृषि विकास बैंक स्वयम्भू शाखामा रहँदा बैंकको ३३ करोड रकम हिनामिनामा प्रकरणमा दोषी ठहर भएका व्यक्ति हुन् । उनीविरुद्ध सम्पति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ । यस्तै, अनुसन्धानकै क्रममा दीपकले कागारामै रहेका अर्का कैदी ताराप्रसाद काफ्लेलाई पनि रिहा गराउने भन्दै ४८ लाख रुपैयाँ ठगेको खुलेको छ । काफ्ले उच्च अदालत पाटनबाट ४ वर्ष कैद र ३ करोड १४ लाख ४८ हजार जरिवानाको फैसला सुनाइएका कैदी थिए । उनी कारागारभित्रैबाट मुद्दा लड्दै ३ करोड जरिवाना बापतको जायजेथा धरौटी राख्ने प्रयासमा थिए ।

सोही क्रममा ताराप्रसादको जेलमै दीपकसँग भेट भएपछि दीपकले धरौटी राख्ने व्यवस्था मिलाइदिन्छु भन्दै ४८ लाख रुपैयाँ लिएर ठगी गरेको खुलेको छ ।
४८ लाख रुपैयाँ बुझाइसकेपछि १७ माघ २०७८ मा ताराप्रसादको डिल्लीबजार कारागारमै मृत्यु भएको थियो । आफ्ना श्रीमानलाई जेलबाट निकाल्छु भन्दै ४८ लाख रुपैयाँ ठगी गरेको पाइएपछि श्रीमती विनिता काफ्लेले प्रहरीमा दीपक र उनकी श्रीमती रीताविरुद्ध जाहेरी दिएकी थिइन् । अहिले यी दुवै मुद्दा एकसाथ राखी प्रतिवादीविरुद्ध बयान भइरहेको छ ।