देशमा भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट-सुस्तपूर्व)को गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रको ४६औँ स्थापना दिवसको अवसरमा आयोजित ‘सहकारी सुशासन:असल अभ्यास, चुनौती र आगामी बाटो’ विषयक सहकारी संवादमा विज्ञहरूले देशको पुँजीगत बजेट पर्याप्त खर्च नहुँदा अर्थतन्त्र सुधार हुन नसकेकामा चिन्ता व्यक्त गरेका हुन् ।
काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार एवं अर्थशास्त्री प्रा.डा.अच्युत वाग्लेले पुँजीगत खर्च हुन नसक्नु देश विकासका लागि चुनौतीपूर्ण भएको बताए । उनले भने, ‘सरकारले बजेटको करिब १८ प्रतिशत रकम विकास खर्च छुट्याउँछ त्यसको पनि बल्लबल्ल ४० प्रतिशत मात्रै खर्च हुन्छ, अर्थतन्त्रको सुधार हुननसक्नुको मुख्य कुरा यही हो ।’ नागरिकले राज्यसँग आशा गर्न छोडेकाले विदेशीने क्रम निरन्तर बढ्दै गएको भन्दै डा.वाग्लेले अब राज्यले आशा जगाउने गरी काम गर्न सक्नुपर्ने बताए ।
संस्थागत विकास एवं सुशासन विज्ञ नम्रता शर्माले साहु महाजन र ढुकुटीजस्ता प्रथामा भित्रिएको विकृतिका कारण अर्थतन्त्रमा समस्या आएको बताइन । आमनागरिकमा वित्तीय साक्षरता नपुग्दा धेरै नागरिक सहकारीमा ठगिन पुगेका पनि उनको भनाइ छ । सहकारीले साँच्चिकै समुदायका लागि काम गरेको छ कि छैन भनेर अध्ययन गर्नुपर्नेमा शर्माले जोड दिइन ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका नेतृत्वकर्ताले सुशासनमा ध्यान नदिएकाले केही सहकारीहरू समस्याग्रस्त भएका बताए । सहकारीमा भित्रिएको अस्वभाविक विषयलाई समयमै नियन्त्रण गर्न नसक्दा त्यसको असर देशव्यापी फैलिएको भन्दै उनले सहकारीले सदस्यलाई केन्द्रमा राखेर काम गर्ने परिस्थिति सिर्जना गर्न सके समस्या नआउने धारणा राखे ।
संवादमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले खराब कर्जाका कारण सहकारीमा कर्जा जोखिम बढेको उल्लेख गरे । सहकारीको जोखिम व्यवस्थापनतर्फ ध्यान दिँदै सञ्चालकले कर्जा नलिने, संस्थागत पुँजी जगेडा कोष पाँच प्रतिशतभन्दा बढी पुर्याउने र कर्जा असुलीमा ध्यान दिनसके सहकारी कहिल्यै नडुब्ने उनको भनाइ थियो । समस्याग्रस्त २१ वटा सहकारी संस्थाको संस्थागत पुँजी शून्य दशमलव पाँच प्रतिशत पनि नभएको हुँदा त्यस्ता सहकारीमा समस्या देखिएको उनले बताए ।
सहकारी संवादको समूहगत छलफलमा विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सापकोटा र महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले सहकारीका असल अभ्यासबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थाले गर्दै आएका क्रियाकलापबारे जानकारी गराएका थिए ।


















