प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । यही साउन ६ गते विश्वासको मत लिने भनेर प्रधानमन्त्री ओलीले संघीय संसद् सचिवालयलाई जानकारी गराएको स्रोतले बतायो ।
ओली नेपाली कांग्रेसको सहयोगमा गएको आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । त्यसको भोलिपल्ट अर्थात् सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएका थिए भने सोही दिन ओली नेतृत्वको सरकारले पूर्णता पाएको थियो ।
सरकारमा नेकपा (एमाले) र कांग्रेससहित जसपा र लोसपा सहभागी छन् । साउन ६ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओली त्यसको भोलिपल्ट संसद्मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेछन् ।


















