बंगलादेशमा सबै नेपाली विद्यार्थी सुरक्षित –परराष्ट्रमन्त्री देउवा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएकी
छिन् । त्यहाँ रहेका नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको अवस्थाका बारमा उनले सामाजिक सञ्जालमार्फत आज बिहान जानकारी गराएकी हुन् ।

परराष्ट्रमन्त्री देउवाले सञ्जालमा भनिन्–, ‘ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ । बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन् ।’

बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उत्पन्न परिस्थितिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू प्रभावित भएको बताउँदै त्यहाँबाट विद्यार्थी र यहाँ उनीहरूका आफन्तहरूले समेत चिन्ता व्यक्त गरेपछि उनीहरूलाई त्यहाँ सुरक्षित किसिमले बस्ने र आवश्यक परे नेपाल फर्किने व्यवस्थाका लागि पनि परराष्ट्र मन्त्रालयले उचित प्रबन्ध गरेको समेत उनले बताइन् ।

मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको तथा ढाकास्थित नेपाली दूतावासलाई पनि त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न तथा नेपाल फर्कन चाहनेहरूका लागि उनीहरूको यात्रामा सहजीकरण गर्न निर्देशन दिइएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको मन्त्री डा राणाले बताइन् ।

आइतबार हवाईमार्गबाट ११५ र काँकडभिट्टा नाका भएर ३०५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण नेपाली विद्यार्थीहरू समस्यामा पर्न थालेको समाचार आएपछि उनीहरूको सहयोगका लागि मन्त्रालयमा हेल्प डेस्क स्थापना गरिएको छ भने ढाकास्थित नेपाली दूतावासलाई नियमित सम्पर्कमा राखिएको छ ।

आइतबारसम्म बंगलादेशबाट एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बंगलादेशमा सरकारले निर्धारण गरेको रोजगारीमा कोटा प्रणालीको विरोधमा विद्यार्थीले आन्दोलन गरिरहेका हुन् ।