कर्णालीमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा

 

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका चार मन्त्रीहले राजीनामा दिएका छन् ।

सोमबार नै मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा पत्र बुझाइएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

उनीहरुले पत्रकार सम्मेलन मार्फत राजीनामा दिएको समेत घोषणा गरेका हुन् ।

मन्त्रीहरुले राजीनामा दिनुअघि अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरेका थिए । माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिक विकासमा वीरबहादुर शाही, उद्योगा पर्यटन वन तथा वातावरणमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।

केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै कर्णालीमा माओवादीका मन्त्रीले राजीनामा दिएका हुन् । यी चारजना मन्त्री गत वैशाख १८ मा मन्त्रीमा नियुक्त भएका थिए ।

मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राजीनामा दिनुअघि आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय संसदीय दलले निर्णय गर्ने बताए ।

माओवादी संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सरकारबाट बाहिरिने विषयमा निर्णय गरेका छैनन् ।