धनगढीको नोभा अस्पतालमा तोडफोड, ४ राउन्ड अश्रुग्याँस प्रहार

धनगढी । कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा उपचाररत कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । जन्डिस भएको भनेर साउन ७ गते अस्पताल भर्ना भएका चौधरीको हिजो शुक्रबार  मृत्यु भएको हो ।सामान्य स्वास्थ्य समस्या लिएर पुगेका चौधरीको  उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गर्न खोज्दा तनाव सिर्जना भएको छ ।मृतकका आफन्तले आफूहरूले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरे पनि अस्पतालले न त उचित उपचार गरेको, न त रिफर नै गरेको बताए ।आफन्तले हालसम्म मृतकको शव बुझ्न मानेका छैनन् । तर अस्पताल प्रशासनले भने लापरबाही नरहेको दाबी गरेको छ ।अस्पतालमा तनाव सिर्जना भएपछि सुरक्षा बढाइएको छ । स्थिति झनझन उग्र बनेपछि प्रहरीले ४ सेल अश्रुग्याँस  समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गंगादत्त बडूले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको बताए ।