संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमति नजिक पुग्यो

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमति नजिक पुगेको छ ।

सोमवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टिआरसी विधेयक करिव टुंग्याउने चरणमा पुगेको बताए ।उनले बिहीवारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरुसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने बताए ।

प्रमुख सचेतक बर्तौलाले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिंगो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पु¥याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगोमा पु¥याउनुपर्ने बताए । अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने बताए ।

प्रमुख सचेतक बर्तौलाले कानूनलाई अब चाँडो भन्दा चाँडो टुंग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको बताए ।

प्रमुख सचेतक बर्तौलाले भने , ‘१८ वर्षदेखि विभिन्न हिसावले उत्ताचढावमा रहेको, टुंगोमा पुग्न नसकेको, पीडितले न्याय पाउन नसकेको अवस्थालाई हामी लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य गर्नेछौँ । यो कानूनलाई अब चाँडो भन्दा चाँडो टुंग्याएर, यही ऐन अनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेका छौँ । यो महत्वपूर्ण छ ।’

कार्यदलको बैठक बिहीवार बिहान ८ बजे पुनः बस्नेछ ।