आत्महत्याको भयावहरुप: समाज कता जादै छ?

नेपालमा पछिल्लो समय आत्महत्या गर्ने सङ्ख्या बढ्दो छ । नेपाल प्रहरीको एक अध्ययन अनुसार नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्ने गरेका छन् । प्रहरीको पछिल्लो रिर्पोट अनुसार २०७८/२०७९ र २०७९/२०८० को दुई वर्षको अवधिमा १३ हजार ७ सय ६६ जनाले आत्महत्या गरेका छन्। सामान्यतय मानिसले जानी बुझि आफ्नो ज्यान आफैले गुमाउनुलाई आत्महत्या भन्ने गरिन्छ । पछिल्लो समय नेपालमा आत्महत्याको कहालीलाग्दो रुप देखिएको छ ।

आत्महत्या गर्ने विभिन्न कारणहरु छन् । गरिबी, जातीयता, पेसा, शैक्षिकस्तर, डिप्रेसन, लागुऔषध सेवन आदिका कारण आत्महत्याको सङ्ख्या बढ्दो छ। त्यस मध्ये पनि मुख्यकारण डिप्रेसन हो । डिप्रेसन एक प्रकारको मानसिक रोग हो । यसले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुको साथसाथै शारीरिक तथा मानसिक पीडा पनि हुने गर्दछ । कुल जनसङ्ख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसनको शिकार भएको पाइन्छ । यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ । डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने अध्ययनले देखाएको छ ।

मानिसहरु किन डिप्रेसन एन्जाइटी जस्ता रोगको शिकार बनिरहेका छन् त? यस सम्बन्धमा विभिन्न स्वास्थसँग सम्बन्धित संस्थाहरुको अनुसन्धानले दुखदायी, अप्ठ्यारो र तनावपूर्ण घटनाहरु जस्तै : आर्थिक कठिनाइ, प्रेम वियोग, पारिवारिक सम्बन्धमा समस्या, नजिकको व्यक्तिको मृत्यु,परिक्षामा असफलता, जागिर खोसिनु, गरिबी आदि कारणलाई प्रमुख मानेको छ । त्यस मध्ये पनि आधुनिक जिवनशैली जनजिवनमा परेको पश्चिमा प्रभाव र पश्चिमा संस्कृति अनुसार आधुनिक बन्न खोज्दा सबै मानिस सफल भएका छैनन् । अर्काको सफलतालाई आफ्नो लक्ष्य बनाई चाँडो धनि बन्ने जुन फेशन पछिल्लो समय देखिएको छ त्यसले पनि आत्महत्यालाई बढावा दिएको छ । त्यसैगरी पछिल्लो समय साइभर क्राइमले पनि यस्ता घटनालाई बढावा दिर्दै आईरहेको छ । लामो समयदेखि मधुमेह, मृगौला, फोक्सो आदिको रोगबाट ग्रसित मानिसहरूलाई पनि डिप्रेसन हुन सक्छ । त्यस्तै थाइरोइड ग्रन्थीको गडबडीले पनि डिप्रेसन हुने सम्भावना धेरै हुन्छ । बच्चा जन्माएपछि केही महिलाहरुलाई डिप्रेसन हुन सक्छ ।

नेपाल प्रहरीका अनुसार ८.२० प्रतिशतले प्रेममा असफलता, आठ प्रतिशतले आर्थिक असफलता, ७.५० प्रतिशतले दीर्घरोग, ४.७० प्रतिशतले लागुऔषध सेवनको प्रभाव तथा २.८० प्रतिशतले मदिराको नसामा आत्महत्या गरेको देखिएको छ । त्यस्तै, अनैतिक सम्बन्धले निम्त्याउने तनावले ०.६०, बेरोजगारी समस्याले ०.२० र शारीरिक अपांगताका कारण ०.०४ प्रतिशतले आत्माहत्या गरेको अध्ययनले देखाएको छ । पछिल्लो १० वर्षमा औसतमा तीन प्रतिशतले नेपालमा आत्माहत्याका घटना बढेका छन् ।

झुन्डिएर आत्महत्या धेरै:
अध्ययनअनुसार ७०.९ प्रतिशतले घरभित्र र १९.१ प्रतिशतले घरबाहिर आत्महत्या गरेका छन् । सबैभन्दा धेरै ८३.५ प्रतिशतले झुन्डिएर तथा १५ प्रतिशतले विष सेवन गरेर आत्माहत्या गरेको देखिएको छ । १.१ प्रतिशतले हाम फालेर, ०.१ प्रतिशतले आगो लगाएर, ०.१ प्रतिशतले डुबेर तथा ०.१ प्रतिशतले हातहतियार प्रयोग गरेर आत्माहत्या गरेका छन् ।

आत्माहत्या गर्ने सबै उमेरका छन् । आत्माहत्या गर्नेमा ५५ प्रतिशत ३५ वर्षभन्दा कम उमेरका छन् । १५ देखि २५ वर्ष उमेर समूहका सर्वाधिक २१ प्रतिशत छन् । त्यस्तै, २५ देखि ३५ वर्ष उमेर समूहका १८.१ र १० देखि १८ वर्ष उमेर समूहका १४.९ प्रतिशत छन् । १० वर्षभन्दा कम उमेरका ०.८ प्रतिशत छन् । त्यस्तै ३५ देखि ४५ वर्ष उमेरका १३.१ प्रतिशत ५५ देखि ६५ वर्षका ९.४ प्रतिशत र ६५ वर्षमाथिका ६.६ प्रतिशत छन् ।

प्रहरीले जातीयताको आधारमा पनि आत्माहत्याको अध्ययन गरेको थियो । जसमा आदिवासी जनजाति समुदायमा आत्माहत्याका घटना धेरै छन् । कुल घटनामध्ये ३९ प्रतिशत आदिवासी समुदायका व्यक्ति छन् । त्यस्तै, ब्राह्मण–क्षेत्री ३१.१, दलित २०.५ प्रतिशत र ९.३ प्रतिशत मधेशी समुदायका छन् ।

आत्माहत्या गर्नेमा शैक्षिकस्तर कमजो  भएकाहरू धेरै हुने गरेको प्रहरीको अध्ययनले देखाएको छ । ६३.१ प्रतिशत साधारण लेखपढ गर्न जान्ने छन् । आधारभूत तहको शिक्षा आर्जन गरेका २.८, निम्न माध्यमिक तहका ६.७, माध्यमिक तहका १३, उच्च माध्यमिक तहका ५.१, स्नातक तहका नौ र स्नातकोत्तर तहका ०.४ प्रतिशत छ । यसले अशिक्षा पनि आत्महत्याको प्रमुख कारण रहेको देखाउछ ।

त्यस्तै, पेसाको आधारमा सबैभन्दा धेरै कृषि पेसामा आबद्धहरू छन् । ४६.२ प्रतिशत कृषक र त्यसपछि १५.४ प्रतिशत विद्यार्थी छन् । त्यस्तै, ११.६ प्रतिशत गृहिणी, १.९ प्रतिशत व्यवसायी, १.९ प्रतिशत बेरोजगार छन् । आत्महत्या गर्नेमध्ये ०.५ प्रतिशत सरकारी जागिरे छन् ।
प्रदेशगत रूपमा आत्महत्या दर बाग्मतीमा धेरै छ ।

वाग्मती प्रदेश जनसङख्याको आधारमा पनि ठुलो रहेको छ । आव ०७८/०७९ मा मकवानपुरमा १ सय २५ जना र आव ०७९/०८० मा ५७ महिलासहित १ सय ५२ जनाले आत्महत्या गरेका छन् । आव ०८०/०८१ मा १ सय ४४ जनाले आत्महत्या गरेको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालय हेटौंडाको तथ्यांक अनुसार मकवानपुरमा महिनामै ११/१२ जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको घटना मकवानपुरमा मात्र बढेको होइन, सिंगो वाग्मती प्रदेशमा बढेको तथ्यांकले देखाएको छ ।

चितवनमा आव ०७८/०७९ मा २ सय १४ जनाले आत्महत्या गरेका थिए भने आव ०७९/०८० मा २ सय २४ र गत आवमा २ सय ३१ जनाले आत्महत्या गरेका छन् । उपत्यकाका तीन जिल्ला बाहेक वाग्मती प्रदेश अन्तर्गत रहेका १० जिल्लामा तीन वर्षमा सबैभन्दा बढी आत्महत्या गर्नेको संख्या चितवनमा देखिएको छ । धादिङमा अघिल्लो आवमा १ सय ४२ जनाले आत्महत्या गरेका थिए भने गत आवमा १ सय ९ जनाले आत्महत्या गरेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष ७ लाख भन्दा बढी व्यक्तिको मृत्यु आत्महत्याद्वारा हुन्छ भने हरेक आत्महत्याका लागि २० भन्दा बढी आत्महत्याका प्रयासहरू भएका हुन्छन् । आत्महत्या जीवनको जुनसुकै बेलामा हुन्छ भने तथ्यांक अनुसार विश्वव्यापी रुपमा १५–२९ वर्षको उमेरमा मृत्युको प्रमुख कारण मध्ये आत्महत्या चौंथो कारण थियो । प्रत्येक १०० जनाको मृत्युमा एक जनाको मृत्य आत्महत्याबाट हुने गर्दछ । यो आंकडा आफैमा भयावह देखिन्छ ।

अरुको सफलताबाट प्रभावित भएर आफू हिनताभावबाट ग्रशीत भएर मानिस आत्महत्याको बाटो रोज्ने गर्दछ । नेपालमा आत्महत्याको कारण मध्ये वैदेशिक रोजगारी र सानो उमेरमा राखिने प्रेम सम्बन्ध र प्रेम सम्बन्धको खट्पट प्रमुख रुपमा देखिएको छ । स्कुले उमेरदेखि विद्यार्थीमा प्रेम सम्बन्धमा पश्चिमी प्रभाव पर्ने गरेको छ । आफू सक्षम र सोच्न नसक्ने उमेरमा हुने प्रेम वियोग अन्तत: आत्महत्यामा परिणत भएका थुप्रै उदाहरण छन् ।
त्यस्तै वैदेशिक रोजगारले पारिवारिक सम्बन्धमा ल्याएको खट्पट र त्यही खट्पटका कारण धेरैले आत्महत्याको बाटो रोजेको पाइन्छ । यस्तो भयावह रुपमा देखिएको आत्महत्यालाई के नियन्त्रण नै गर्न सकिदैन त ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ । समाजमा चेतना फैलाउन स्थापना भएका समाजिक संस्थाले यसमा पहल गर्नुपर्नेमा त्यस्ता संस्था नै आत्महत्याको कारक र जिम्मेवार देखिएका  छन् ।

यसमा राज्य पक्षजति संवेदनशील हुनुपर्ने हो राज्य पनि असंवेदनशील र गैरजिम्मेवार देखिएको छ । वर्षमा एक पटक कार्यक्रम गर्ने घटना घट्यो भने विज्ञप्ती निकाल्ने भन्दा अन्य भुमिकामा राज्य देखिदैन । यस्तो विकराल रुप फैलिदै गरेको आत्महत्यालाई नियन्त्रण गर्न बेलैमा सकिएन भने देशको भविष्य बोकेका युवा आफू बढी प्रताढित हुनेछन् । सम्बद्ध पक्षको समयमै ध्यान जाओस् ।