अवैध लागूऔषध कोकिन सहित दुई जना विदेशी नागरिक पक्राउ

अवैध लागूऔषध कोकिन १ किलो १ सय ४ ग्राम सहित २ जना विदेशी नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तानजानियन नागरिक ५८ वर्षीय जुमा अबदुल्ला मज़ी र भारतीय नागरिक के जुकोबेनी त्सोपो रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वरस्थित एक होटलमा बसेका जुमा अबदुल्ला मज़ीको कोठा तलासी गर्दा झोलाभित्र लुकाई राखेको ८० वटा क्याप्सुलमा रहेको उक्त परिमाणको कोकिनसहित उनलाई पक्राउ गरेको हो ।

साथै उक्त कोकिनका क्यापसुलहरू डेलिभरी दिने क्रममा भारतीय नागरिक के जुकोबेनी त्सोपोलाई समेत प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा के जुकोबेनी त्सोपोले उक्त कोकिन भारततर्फ लैजान लागेको समेत खुलाएको छ ।

बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८७ लाख हुन आउने ब्यूरोले जनाएको छ । उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।