श्रीकृष्ण जन्माष्टमी : पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो, रजस्वला तथा बेल विवाह नभएका कन्यालाई पुजिँदै

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । पूजाअर्चनाका लागि मन्दिरका दक्षिण र उत्तर तर्फ दर्शनार्थीका लागि लाइनको व्यवस्था गरिएको छ । भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल स्काउट, ललितपुर महानगर प्रहरी परिचालित छन् ।

रजस्वला तथा बेल विवाह नभएका कन्यालाई पुजिँदै
श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज काभ्रेमा करिब १० हजार कन्यालाई पुजिँदैछ । प्राचीन, ऐतिहासिकता बोकेको बनेपा सहरमा एक सय २२ वर्षअघि सुरु गरिएको ‘कन्यापूजा’ ९रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई०लाई हरेक वर्ष यही दिन पुजिँदै आइएको छ ।

आज मध्याह्नबाट सुरु गरिने पूजामा बनेपाका करिब सात हजार कन्या पुजिने सनातन कन्या–पूजा प्रबन्ध समितिले जनाएको छ । यस्तै केही वर्षदेखि जिल्लाका विभिन्न स्थानमा पनि कन्या पूजालाई निरन्तरता दिन थालिएको छ । कन्या–पूजा बनेपा नगरको पुरानो बजारमा विसं १९५९ देखि वर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गर्दै आइएको हो ।

बनेपा नगरको भोलाखाँ टोलबाट लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा कन्या लस्करै बस्छन् । कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् । समितिका सदस्य प्रकाश कायस्थका अनुसार कन्यापूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल दलेर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ ।

रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ । यस मान्यताका साथ पछिल्ला वर्षदेखि काभ्रेपको नाला, पनौती, साँगा, दोलालघाटलगायत विभिन्न बजार तथा बस्तीमा कन्यालाई श्रीकृष्ण जन्माष्टमीको दिन पुज्दै आइएको हो ।

बनेपामा काभ्रे तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब सात हजार कन्या सहभागी हुने गर्दछन् । दश वर्षमुनिका कन्यालाई पुज्दा उनीहरूको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ ।

अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याहरूको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्यासमेत मानवकन्याका वेशमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीका रूपमा ‘कन्या’नै भएकाले कन्यालाई पुज्दै आइएको हो । कन्याहरूको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन् ।

बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाती या वर्गका आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्यापूजा सुरु हुने गर्दछ । किंवदन्तीअनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दु:ख भएपछि घरको बुइँगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोहीलाई सुरुका वर्षमा प्रचलनस्वरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्र पुजिँदै आइए पनि केही समयपछि सबै जातजातिका कन्यालाई पूजामा सामेल गराउँदै आइएको हो ।