काग्रेस शीर्ष नेताहरुबिचको बैठकले महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति जुटाएका

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको छ । शनिबार बसेको शीर्ष नेताहरुबिचको बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको हो ।
‘सबै कुरामा सहमति भयो । विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरा भयो । पार्टीका विधानसँग सम्बन्धित जति पनि मुद्दाहरू छन्, ती सबैलाई विधान मस्यौदा समितिमा पठाउने बैठकमा सहमति भयो’ कांग्रेस एक पदाधिकारीले बताए ।
महामन्त्री गगनकुमार थापाको प्रस्तावमा भने कहीँ कतै पनि गठबन्धन उल्लेख नगरिएको पनि ती पदाधिकारीले बताए । आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने केही कुरा पनि नआएको उनले बताए । उनले भने, ‘गठबन्धन गर्ने नगर्ने केही कुरा पनि आएन, नेपाली कांग्रेसले बहुमत ल्याउने गरेर संगठनलाई विस्तार गर्ने सहमति भयो ।’
त्यस्तै बैठकमा महामन्त्री शर्माको प्रतिवेदनमा उल्लेखित ‘एक्जिट पोलिसी’ संविधानसँग पनि जोडिएको विषय भएकाले संविधान संशोधनको बेला यो एजेण्डालाई छलफलमा ल्याउने गरी छलफल भएको उनले बताए ।