जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रम ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्मको रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन्
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत भइरहेको उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनले गर्दा नेपालमा हिमालहरू पग्लिएको बताएका हुन्

प्रधानमन्त्री ओलीले समुद्री सतह वृद्धिबारे उल्लेख गर्दै एसियाका दुई तिहाइ हिमालहरू पग्लिँदा कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य भएको बताए । हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी रुपमै प्रयास हुनुपर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री ओलीले हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रण गर्न हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न पनि आग्रह गरे । उनले उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्ने बताए ।

उनले भने, ‘आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसङ्घलाई आग्रह गर्दछु ।’

यसैगरि प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई पनि सम्बोधन गरेका छन्। उक्त बैठकमा जलवायु न्यायको आवाज उठाउँदै उहाँले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्ने माग गरे ।