काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । धेरै वर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा हुँदै त्यसमा अग्रिम तत्परता तथा पूर्व प्रतिकार्य नहुँदा ठुलो मानवीय र भौतिक क्षति हुन दुःखद भएको उनले बताएका हुन् ।
दसैँ तिहार जस्ता हाम्रा महत्त्वपूर्ण पर्वहरू निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक सञ्जालहरू अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि उनले आफ्नो गम्भीर चासो रहेको उल्लेख गरेका छन्।
साथै उनले मृतक परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेहरूको शीघ्र उपचार हुनु पर्ने भन्दै तदारुक प्रयत्न गर्न सरकारसँग आग्रह गरेका छन् ।


















