काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागले अबको दुई-तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताएका हुन् ।
मन्त्री यादवले २०७६ सालको बाढी,पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भएको र त्यसबाट स्थानीयहरु त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौंका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिए । उनले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान हुने उल्लेख गरे। उनले अहिले मन्त्रालयले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरु डिजिटल प्रणालीबाट जाँच गरिरहेको बताए ।
मन्त्री यादवले मेलम्चीवासीका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र स्थानीयहरुले पनि पानी पथान्तरणका लागि कुनै समस्या सिर्जना नगर्नेमा आशावादी नरहेको बताउदै स्थानीयका माग सम्बोधनका लागि मन्त्रालयका कर्मचारीहरु मेलम्ची पुगिसकेको बताए ।
मन्त्री यादवले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै काठमाडौंमा पानीको हाहाकार भएको बेलामा स्थानीयहरुले पानी पठाउँमा अवरोध नगर्नेमा आशावादी रहेको बताए ।



















