विपक्षी दल नेकपा एकीकृत समाजवादी संकटपूर्ण घडीमा छ । पार्टी नै नरहने हो कि भन्ने स्थिति निम्तिँदै गएको छ ।
गत असार तेस्रो साता भएको पार्टी महाधिवेशन र त्यसपछिका पोलिटब्युरोसँगै पदाधिकारी निर्वाचनबाट उत्पन्न आन्तरिक मतभेदले पार्टी पूरै शिथिल बनेको छ । नेता कार्यकर्तामा कुनै उत्साह छैन । निराशा झनै बढ्दो छ । उनीहरू साढे तीन वर्षअघि एमालेसँग विद्रोह गर्दै बनाएको पार्टीकै विकल्पमा देखिँदै गएका छन् ।
हालै डोटीबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले त पार्टी छाडेको बताइसकेका छन् । उनले सानन्युजसँग भने, ‘म महाधिवेशनअघि देखि नै पार्टीमा निष्क्रिय छु । मलाई पार्टीमा रहने मन नै छैन । अहिले पार्टी पूर्ण रूपमा छोडिसकेको छु ।’ पार्टीका अन्य नेताहरू पनि विकल्पको खोजीमा लागेका छन् । एकथरी नेताहरू एमालेसँग र अर्काथरी नेताहरू नेकपा माओवादी केन्द्रसँग एकता गर्नुपर्ने पक्षमा छन् । तर, यी दुवै विकल्पले मूर्तरुप लिइसकेको छैन ।
स्रोतका अनुसार एमालेसँग एकता गर्नेगरी नेता सोमप्रसाद पाण्डेले अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक सम्वाद गरेका छन् । त्यसक्रममा उनले नेकपाकालमा अभ्यासमा रहेको दुई अध्यक्षीय प्रणाली भएको र त्यही मोडालिटीमा पार्टी एकता गर्नुपर्ने प्रस्ताव ओलीसँग गरेका छन् । तर, ओलीले अस्वीकार गरेका छन् । यसपछि थप छलफल भएको छैन । स्रोत भन्छ, ‘अध्यक्ष ओली सकेसम्म शीर्षस्थ नेता नभित्र्याउने बरु दोस्रो र तेस्रो तहका नेताहरू भित्र्याउने पक्षमा चाहिँ हुनुहुन्छ ।’
नेकपा एसका शीर्षस्थ नेताहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल हुन् । यी नेताहरूलाई छाडेर बाँकीलाई एमाले प्रवेश गराउने पक्षमा ओली देखिएको स्रोतले जनायो । यद्यपि, नेकपा एसको ठूलो पंक्ति एमालेसँगै एकता गर्नुपर्नेमा पक्षमा छन् । पूर्वमन्त्रीसमेत रहेका सांसद भानुभक्त जोशीले पार्टी यही हालतमा चल्न नसक्ने भन्दै भने, ‘दु:ख गरेर बनाएको पार्टी भनेकै एमाले हो । सिंगो पार्टी पंक्ति जानेगरी समझदारी कायम गराउनुपर्छ ।’
पूर्वराजदूतसमेत रहेका नेता वंशीधर मिश्रले हालैका दिनमा एमालेमा पार्टीका शीर्ष नेताबाहेक ठूलो पंक्ति छिट्टै जाने बताएका थिए । उनीभन्दा अघि सांसद अम्बरबहादुर थापाले पार्टी यही हालतमा नचल्ने भनेका थिए । पार्टीलाई अध्यक्ष नेपालले नेतृत्व गर्न नसकेको औँल्याउँदै उनले पार्टीको यस्तो हालत हुन्छ भन्ने अनुमान गरिएको भए कर्णाली प्रदेश संसदमा फ्लोर क्रस नगर्ने बताएका छन् ।
‘कर्णाली संसदमै विद्रोह नगरेको भए नेकपा एस बन्ने थिएन । हामीले गर्यौँ र त अहिले नेकपा एस छ तर पार्टीजस्तो भएन । अहिले फ्लोर क्रस गरेकोमा पश्चताप लाग्छ’, थापाको भनाइ छ । एमालेसँग एकता गर्न अध्यक्ष नेपाल, खनाल, महासचिव भुसालसँगै नेता मेटमणि चौधरी अनिच्छुक छन् । उनीहरू माओवादीसँग निकट छन् । एमालेसँग निकै तिक्ततापूर्ण सम्बन्ध यी नेताहरूको छ । सोही कारण माओवादीसँगै पार्टी एकता गर्ने पक्षमा यी नेताहरू छन् ।
तर, एमालेसँग एकता गर्नुपर्ने पक्षमा पूर्वसचिव रामकुमारी झाँक्री, केशवलाल श्रेष्ठ, डा. विजय पौडेल, जीवनराम श्रेष्ठलगायत नेताहरू छन् । यद्यपि, यो बहसले पनि मूर्तरुप लिएको छैन ।
यसबाहेक नेकपा एसमा एउटा समूह भने राजनीतिक दल विभाजन खुकुलो बनाउनेगरि राजनीतिक दलसम्बन्धी अध्यादेशको पक्षमा छन् । सोमबार नै अध्यादेश ल्याउने सरकारको तयारी पनि थियो । अन्तिममा कांग्रेस सभापति शेरबहादुर देउवाले रोकेको चर्चा छ । अध्यादेश ल्याएको अवस्थामा नयाँ दल गठन गरेर एमालेसँग एकता गर्नुपर्ने पक्षमा नेतृ झाँक्री, सांसद थापालगायत छन् ।
पार्टी स्थापना भएको साढे तीन वर्ष नहुँदै नेकपा एसका नेताहरू सुरक्षित राजनीतिक भविष्यका लागि विकल्पको खोजीमा देखिएका छन् । ९ भदौ २०७८ मा एमालेबाट नेता नेपालको नेतृत्वमा एउटा समूह नेकपा एसमा कानुनीरुपमा आबद्ध भएका थिए । यसबीचमा पार्टीको २० वटाभन्दा बढी जिल्ला समिति नै एमालेमा फर्किएका छन् । पार्टीका नेता मुकुन्द न्यौपानेसहितको ठूलो टिम पनि एमालेमै फर्कियो । दल विभाजन गरेर भने कोही नेता गएका छैनन् । कारण, राजनीतिक दलसम्बन्धी ऐन २०७१ अनुसार नेकपा एसलाई पाँच वर्षसम्म विभाजन गर्न मिल्दैन । त्यही भएर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सजिलो हुनेगरिको विधेयक ल्याउन चाहेका छन् । मंगलबार नै विधेयक ल्याउने ओलीको तयारी थियो । तर, सत्तारुढ प्रमुख घटक कांग्रेसका सभापति शेरबहादुर देउवाले विमती जनाएपछि विधेयक रोकिएको चर्चा छ । उक्त विधेयक आए नेकपा एसको एउटा समूह पार्टी विभाजन गरेर अन्तत: एमालेमा जाने रणनीतिमा छ ।


















