राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले शुक्रबार काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले शुक्रबार काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो ।
प्रदर्शन पार्टीको नेतृत्वमा भए पनि आम रूपमा सहभागी हुन अपिल गरेको रास्वपाका एक केन्द्रीय नेताले जानकारी दिए । उनले भन
सरकारको प्रतिशोधपूर्ण कदमविरुद्ध उत्रिन सार्वजनिक रूपमा अपिल गरेका छौँ । अब पोखरा वा कुनै व्यक्ति वा पार्टी विशेषमा आन्दोलन रोकिँदैन ।सबैको ऐक्यबद्धता हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । पार्टीको झन्डा केही हुँदैन । स्वतःस्फूर्त रूपमा खुला कार्यक्रम गर्न लागिएको हो ।’
सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् । बिहीबार लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।