रास्वपाको सार्वजनिक अपिल

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सरकारविरुद्ध काठमाडौँमा पनि प्रदर्शन गर्ने भएको छ । भोलि माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन रास्वपाले अपिल गरेको हो ।

रास्वपाका केन्द्रीय सदस्य पुकार बमका अनुसार प्रदर्शन पार्टीको नेतृत्वमा भए पनि आम रूपमा सहभागी हुन अपिल गरेको जानकारी दिए । उनले भने, ‘दुई तिहाइ सरकारको दम्भ र प्रतिशोधपूर्ण कदमविरुद्ध उत्रिन सार्वजनिक रूपमा अपिल गरेका छौँ ।

अब पोखरा वा कुनै व्यक्ति वा पार्टी विशेषमा आन्दोलन रोकिँदैन । अब अभियानकै रूपमा अगाडि बढिसकेको छ । ओली सरकारविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउँछौँ । मुद्दा पार्टीले उठाएपनि जिल्ला, प्रदेशले नेतृत्व गर्छ । सहकारी ठगी, भ्रष्टाचारका अन्य मुद्दाका लागि सार्वजनिक रूपमा अपिल गरेका छौँ । सबैको ऐक्यबद्धता हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । पार्टीको झन्डा केही हुँदैन । स्वत:स्फूर्त रूपमा खुला कार्यक्रम गर्न लागिएको हो ।’

आन्दोलनको तयारीका लागि अहिले जिल्ला, प्रदेश र केन्द्रमा उपलब्ध भएका केन्द्रीय नेताहरूको बैठक बसेको उनले जानकारी दिए । बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, व्यवस्थित गर्ने लगायत विषयमा छलफल भइरहेको बताए ।