प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक विषयलाई लिएर भोलि राजधानी काठमाडौंमा विरोध प्रदर्शनको घोषणा गरेको छ । विरोध प्रदर्शनमा ३० हजार मानिस उतार्ने तयारी गरेको छ ।
खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौंमहल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् । त्यसपछि जुलुश सुरु हुने छ । सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने छन् ।
अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ त्यसका लागि सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ । प्रदर्शनीमार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको छ ।


















