skip this वडा नं १६ बालाजु च:मती

वर्तमान सरकारले सय दिनमा लक्ष्यअनुसार काम गर्न सकेन–शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम हुन नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको विकास र सुशासनका लागि ठूला दल मिलेर सरकार बनाएपछि सरकारले लक्ष्य अनुसारको काम गर्न नसकेको बताएका हुन् ।

उनले अहिले पनि प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्तामात्रै रहेको उल्लेख गरे। सरकार ढल्ने कुरा गरेर भूलभूलैयामा पार्ने षड्यन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने जिकिर गरे । कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसंग सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ ।

कोइरालाले अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउने काम उचित नभएको जिकिर गरे । सरकारका केही क्रियाकलापले सरकार फरक ढंगले हिँड्न खोजेको हो कि भन्ने आभाष भएको उनको भनाइ छ ।

त्यस्तै कांग्रेसका नेता मोहन बहादुर बस्नेतले यसअघिको कमीकमजोरीलाई सुधार गर्दै आगामी निर्वाचनको तयारी गर्नुपर्ने उल्लेख गरे। चुनाबी गठबन्धन भन्दा पनि रणनीतिक विषयमा पार्टीले ध्यान दिनुपर्ने उनले बताए ।

उनले पार्टीभित्र अनुशासन कडाइका साथ लागू गर्नुपर्ने भन्दै पार्टीभित्र अनुशासन उलङ्घन गर्ने सबैमाथि कारवाही हुनुपर्ने उल्लेख गरे ।