काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा आयोजना गरेको छ । बर्तमान सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गरेको हो । कार्यक्रम बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा भएको हो । काठमाडौँ मलमा नेता तथा कार्यकर्ताहरू जम्मा भई त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गरेका छन् । जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा भई रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकार दलाल बिचौलियाले बनाएको पुष्टि भएको बताएका छन् ।
उनले सरकार नेपाली जनताको नभएर सीमित दलाल पुँजीपति व्यापारी र माफियाको भएको बताए । माओवादी जिम्मेवार प्रतिपक्षी दल र युग परिवर्तनमा भूमिका खेलेको पार्टी भएका कारण जनताको विपत्तिमा टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।



























