बैंककबाट काठमाडौँका आएकोे एयर एसियाको जहाज काठमाडौँ आएपछि अवतरण अनुमति सकिएको भन्दै ३७ मिनेट आकाशमा ‘होल्ड’

काठमाडौँ । बैंककबाट काठमाडौँका आएकोे एयर एसियाको जहाज काठमाडौँ आएपछि अवतरण अनुमति सकिएको भन्दै लामो समय आकाशमा ‘होल्ड’ हुन पुगेको छ । जहाजले अवतरणको अनुमति नपाएपछि १३ नटिकल माइलमा होल्ड गरिएको थियो । उक्त जहाज २ बजे काठमाडौँमा अवतरण गर्नुपर्ने तालिका थियो ।
विमानस्थल स्रोतका अनुसार एयर एसियाको अवतरण अनुमति हिजोसम्म मात्रै थियो । आज देखि ‘विन्टर सेड्युल’ लागु भएकाले उक्त जहाजलाई विमानस्थलले काठमाडौँमा अवतरण गर्न दिएन ।
उक्त कुरा विमानस्थलले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गरायो । लगत्तै प्राधिकरणको आकस्मिक बैठक बस्यो र अवतरणका लागि अनुमति दियो । अनुमति पाएपछि एयर एसिया २ बजेर ३७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।