गत असोज १३ गते बिहान धादिङको झ्याप्ले खोलामा उद्धारकर्मीहरूले एउटा बस पहिरोले पुरिएको अवस्थामा फेला पारे । खोज्दै जाँदा यात्रुवाहक हायस र माइक्रो पनि पुरिएको भेटिए । उद्धारकर्मीहरूले तीनवटा सवारीमा गरी ३५ जनाको शव फेला पारे । दु:खदायी घटना स्थानीय प्रशासनको लापारबाही र असावधानीले भएको भन्दै सरकारमाथि छानबिनको चर्को दबाब पर्यो । अन्तत: प्रहरी मुख्यालयले प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहको नेतृत्वमा समिति गठन गर्यो । उक्त समितिले गरेको छानबिनले ३५ जनाको ज्यान जानेगरी झ्याप्ले खोलामा पहिरोले बस र माइक्रो पुरिएको घटनामा त्यहाँको तत्कालीन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र प्रहरी उपरीक्षक गौतम केसी दोषी देखाएको छ ।
उनीहरूबीच समन्वय नहुँदा झ्याप्ले खोला घटना भएको छानबिन समितिको प्रारम्भिक निष्कर्ष छ । घटनाको छानबिन गर्न गठित समितिले दुई जनाबीच मनमुटाव भएपछि विपद् प्रतिकार्यमा समन्वय अभाव भएकै कारण झ्याप्ले खोला घटना भएको भन्दै उनीहरूलाई घटनामा जिम्मेवार ठहर गरेको हो । अविरल वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत गराउँदासमेत प्रतिकार्यसम्बन्धी योजना नबनाएको छानबिनबाट देखिएको छ । छानबिन समितिका एक जना सदस्य भन्छन्, ‘प्रजिअ र एसपीको मनमुटाब भएको तथ्य धादिङमा सर्वसाधारणले समेत थाहा पाउने गरी रहेछ । मनमुटावका कारण मनसुन प्रतिकार्यबारे उनीहरूले छलफल र निर्णय गरेको देखिएन ।’
घटना असोज ११ र १२ मा अविरल वर्षासँगै झ्याप्ले खोलामा खसेको पहिरोका कारण भएको थियो । झ्याप्ले खोला धादिङको धुनिवेशी नगरपालिका–९ मा पर्छ । विपद् प्राधिकरणले धादिङ, काभ्रेसहित विभिन्न जिल्लामा साँझ र रातिको समयमा सवारी सञ्चालन नगर्न आग्रह गरेको थियो । यद्यपि, धादिङमा सञ्चालन भयो र घटना भयो । यसपछि नागरिकस्तरबाट चर्को विरोध भएसँगै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी मुख्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक शाहको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए ।
समितिले सिडिओ र एसपीबीच समन्वय नभएकै कारण घटना भएको निष्कर्ष निकाले पनि प्रतिवेदन भने तयार गरिसकेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत नारायणगढ–मुग्लिन हुँदै नागढुंगासम्म सवारी चलाउन रोक लगाउन सूचना जारी गरेको थियो । तर, उक्त सडकखण्डमा अविरल वर्षाको समयमा पनि निर्वाध सवारी चलेको छानबिन समितिले जनाएको छ । समितिका अनुसार स्थानीय प्रशासनले झ्याप्ले खोला क्षेत्रमा बस्ने स्थानीय र होटल सञ्चालकलाई पनि पूर्व सूचना दिएको भेटिएन । खोला बढेपछि होटल सञ्चालकहरू आफैँ त्यहाँबाट हिँडेका कारण थप दुर्घटना नभएको छानबिनबाट देखिएको छ ।
तर, गोरखा र चितवनबाट आएका सवारी साधन प्रहरीले नरोक्दा दुर्घटनामा परेको र अन्नत: ३५ जनाले ज्यान गुमाउनु परेको समितिको निष्कर्ष छ ।
पहिरोले पुरिएकोमध्ये एउटा बसमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिकाले ज्यान गुमाएका थिए । उक्त बस गोरखाबाट काठमाडौँ आउँदै थिए । बस नम्बर ना.४ ख २२७० हो । पहिरोले पुरिएको अर्को सवारीमा चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायस हो । लु. १ ज ४५७७ नम्बरको विङ्गरमा सवार यात्रु पुरिएका हुन् ।
दुर्घटनापछि धादिङको प्रमुख जिल्ला अधिकारी फेरिए । त्यहाँ सुमन घिमिरे पठाइए । जिल्ला प्रहरी प्रमुखमा दीपेन्द्र शाहीलाई जिम्मेवार दिइएको छ ।
दुर्घटनामा भने बुटवल उपमहानगरपालिका १६ का ३५ वर्षीय प्रकाश कुँवर, सोही वडाका ३३ वर्षीय अनुप तल ठकुरी कुँवर, वर्ष २९ कि सिर्जना कुँवर तथा रुपन्देहीको देवदह नगरपालिका ४ का ५० वर्षीय रमेशप्रसाद लुइँटेल, अर्घाखाँचीको सिनपा ७ का २५ वर्षीय बोमबहादुर खाम्चा, धादिङको धुनिवेशी नगरपालिका–९ बस्ने ३३ वर्ष सुमन बजगाईं, स्याङ्जातको गल्याङ नगरपालिका ३ की ४५ वर्षीया सीता भट्टराई, सोही ठाउँकी १४ वर्षीया दिपिका भट्राई तथा दिपेश भट्टराई र गुल्मीको गुल्मी दरबार ७ का ३२ वर्षीय जुद्धबहादुर रायमाझी, प्रमिता भुसाल तथा २ वर्षका कृशव रायमाझीको मृत्यु भएको थियो ।
दुर्घटनामा नुवाकोट सामरी–५ बस्ने २१ वर्षीय साइमन तामाङ, पर्वत कुश्मा नगरपालिका–२ बस्ने ३१ वर्षकी पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट–७ का २८ वर्षीय नवराज पन्त, रुकुम पश्चिम मुसिकोट–१५ ३९ वर्षका तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका–४ का ४० वर्षीय नवराज तिवारी, बझाङको जयपृथ्वी नगरपालिका–१ २३ वर्षका नवीन सिंह, चितवन भरतपुर नगरपालिका–२१ की २१ वर्षीया अनिता थापामगर, मकवानपुर मनहरी–९ का ३३ वर्षका सन्तु विक, काठमाडौँ महानगरपालिका–१६ का ४८ वर्षीय आनन्द राजवंशी र चितवन खैरहनी नगरपालिका–३ का १९ वर्षीय सिद्धार्थ गुरुङको मृत्यु भयो ।
तनहुँको भानु नगरपालिका–३ का २६ वर्षीय जनक कुँवर, चितवनको भरतपुर–९ का ५३ वर्षीय मोहनदास आचार्य, काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ का ५६ वर्षीय नरेन्द्र खत्री, गोरखाको भिमसेन गाउँपालिका–४ का ४७ वर्षीय मदन परियार, गोरखा भिमसेन गाउँपालिका–४ १५ वर्षीय विनायक भट्टराई, गोरखाको धोर्चे गाउँपालिका–७ का २७ वर्षीय सुके दमै, बागलुङको बडिगार्ड गाउँपालिका–२ का ५२ वर्षीय इन्द्रजित राना र सोही ठाउँका भिमकुमारी रानाको पनि मृत्यु भयो ।
यस्तै, जुम्लाको सिजा गाउँपालिका–६ का ३९ वर्षीय हरिबहादुर बुढा, धादिङको ज्वालामुखी गाउँपालिका–२ की २६ वर्षीया लिलामाया तामाङ, सर्लाहीको चक्रघट्ट गाउँपालिका–६ का १७ वर्षका वसन्त साह, सप्तरीको सप्तकोसी नगरपालिका–७ का २८ वर्षीय नन्दप्रसाद किशोर चौधरी र तनहुँको ब्यास नगरपालिका–५ का ३४ वर्षीय लेखनाथ ओझा पहिरोमा पुरिएर ज्यान गुमाएका थिए । यति धेरैको मृत्यु घटनाबारे छानबिनका लागि जनताले दबाब दिएका थिए । अन्तत: सरकारले छानबिन समिति गठन गरेको हो । समितिले तत्कालीन धादिङका सिडिओ पाण्डे र प्रहरी उपरीक्षक केसीलाई जिम्मेवार ठहर गरेको हो ।


















