नेपाल फेरि पनि उपविजेतामै सीमित

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपालमाथि बंगलादेशले २–१ गोलको जित निकालेको हो।
नेपालले बंगलादेशसँग २०२२ को संस्करणको फाइनलमा पनि ३–१ गोलको पराजय भोगेको थियो। नेपाल साफको उपाधि भिडन्तमा बंगलादेशसँग दुई पटक र भारतसँग चार पटक पराजित भइसकेको छ।
यस्तै नेपाली महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको यो १२औं पटक हो। नेपाल १२औं फाइनलमा पराजित हुँदा फेरि पनि उपविजेतामै सीमित बन्यो।
बंगलादेशका लागि ८१ मिनेटमा ऋतु चक्माले गोल गर्दै दोस्रो पटक अग्रता दिलाएकी थिइन्। उनले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले रोक्न सकिनन्।
नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनले प्रिति राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन्।
५२ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरेको थियो।