एमालेको केन्द्रीय सचिवालयले नेता लिलाबल्लभ अधिकारीमाथिको कारबाही अनुमोदन

एमालेको केन्द्रीय सचिवालय बैठकले नेता लिलाबल्लभ अधिकारीमाथि कोशी प्रदेश कमिटीले गरेको कारबाही अनुमोदन भएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले अधिकारीलाई निलम्बन गर्ने प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

’लिलावल्लभ अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको छ। त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोशी प्रदेश कमिटीले उहाँलाई पार्टीका सबै जिम्मेवारीहरू र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने निर्णय गरेको छ। त्यो निर्णयलाई अनुमोदन गर्दै उहाँलाई सबै खालका जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ,’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव ज्ञवालीले भने।

प्रदेश कमिटीले पनि मन्त्री अधिकारीको भ्रमणसंग जोडिएर लागेको मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुयाउन खोजेको आरोप छ।