काठमाडौं । उपचुनाव हुने दुवै जिल्ला समन्वय समिति सभापति नेपाली कांग्रेसले सुरक्षित गर्ने पक्का भएको छ । ओखलढुंगा र कैलालीमा जिसस सभापतिका लागि उपचुनाव हुँदैछ । दुवै जिल्लाको सभापति पदमा एमालेले समर्थन गरेको छ ।
जिसस सभापतिका लागि ओखलढुंगामा कांग्रेस एक्लैको बहुमत छ । ८ पालिका रहेको ओखलढुंगामा कांग्रेससँग ९ जना (स्वतन्त्र जितेको एक पनि कांग्रेसतिरै रहेको) पालिका पदाधिकारी छन् ।
एमालेसँग ५, माओवादी र जसपासँग १÷१ जना पदाधिकारी छन् । एमालेको पनि कांग्रेसलाई समर्थन हुँदा माओवादी र जसपाको दुई मत मात्र सत्ता गठबन्धन बाहिर छ ।
‘प्रक्रिया मात्र बाँकी हो, सभापति हाम्रो भइसक्यो’, कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले भने । ओखलढुंगामा यसअघि पनि कांग्रेसकै सभापति थिए । २०७९ को चुनावबाट डिल्लीराम खनाल जिसस सभापति निर्वाचित भएका थिए ।



















