अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ ठेगाना भएका ३७ वर्षीय राजेश श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–५ हाडीगाँउबाट पक्राउ गरेको हो ।
श्रेष्ठले सामाजिक संजाल फेसबुक, ह्वाट्स एपमा सम्पर्क गरी अमेरिकाको नागरिक हाल मिसनको लागि सिरियामा रहेको बताई पीडितहरूलाई सिरियाको मिसनमा कमाएको केही डलर नेपालमा पठाईदिन्छु, मिसन पश्चात नेपालमा आई अस्पताल खोल्ने, अनाथहरूलाई सहयोग गर्ने, बाँकी रहेको डलर पीडितहरूलाई दिने बताई कुरियर मार्फत डलर पठाएको छु भनेर विश्वास दिलाई कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग लगायतको चार्जको लागि रकम लाग्छ भनी नगद ७ लाख ७५ हजार रूपैयाँ विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाताहरूमा पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
त्यसैगरी वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका–७ ठेगाना भएकी २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालिका(२ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने २७ वर्षीय प्रकाश बहादुर रोक्का मगर रहेका छन् ।
पक्राउ मध्ये रचनाले हंगेरी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख रूपैयाँ र प्रकाशले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रचनालाई काठमाडौं महानगरपालिका–१२ बाट र प्रकाशलाई काठमाडौं टोखा नगरपालिका–९ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
त्यसैगरी नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका(३१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका(७ बस्ने २१ वर्षीय सुरज पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल फेसबुकमा फेक आईडीबाट दुबईमा वैदेशिक रोजगारको लागि सुवर्ण अवसर छ, भिजिट भिषामा दुबईमा आई काम गर्न मिल्छ भनि बिज्ञापन पोष्ट गरी पीडितसँग म्यासेन्जर र ह्वाट्स एपमा कुरा गरी नगद २ लाख १५ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
त्यसैगरी बैंकिङ कसूर मुद्दाका फरार ३ जना प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी बेनी नगरपालिका–९ ठेगाना भएकी ३९ वर्षीया बिष्णुमाया केसी, काठमाडौं महानगरपालिका–१५ ठेगाना भएका ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुर, भक्तपुर नगरपालिका–७ बस्ने ५२ वर्षीय राजेन्द्र तुई तुई रहेका छन् ।
पक्राउ मध्ये विष्णुमायाले पीडितलाई १ करोड ५० लाख रूपैयाँ बराबरको चेक दिई खातामा पर्याप्त रकम मौज्दात नभई वाउन्स भई काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमती प्राप्त भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय बौद्धबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।
यसैगरी बालकृष्ण महर्जन भएको बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०८० जेठ २९ गतेको फैसलाले ५ दिन कैद, बिगो १६ लाख रूपैयाँ जरीवाना र ६४ हजार रूपैयाँ क्षतिपुर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने ठहर भई फरार रहेका महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भुबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत लगनखेलमा पठाइएको छ ।
यसैगरी जिल्ला अदालत काठमाडौं बबरमहलबाट बैंकिङ कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका राजेन्द्र तुई तुईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका(७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ ।


















