कृषि विकास रणनीति परिमार्जन हुँदैछ–कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समयानुकूल परिमार्जन गर्न थालिएको बताएका छन् ।

कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि बिहीबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मुलुक संघीयतामा जानुअघि लागू गरिएको रणनीति अहिले परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘संघीयता अघिको रणनीतिले हामीलाई काममा अवरोध गरेको छ । यसलाई तत्काल परिमार्जन गर्न आवश्यक छ । म त्यसमा लागेको छु ।’

२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशका सरोकारवालाबिच छलफल गरी सुझाव लिइएको अधिकारीले बताए ।

जीविकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्ने गरी रणनीति परिमार्जन आवश्यक रहेको मन्त्री अधिकारीले जोड दिए।

कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा धेरै खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि थप बजेट आवश्यक रहेको पनि उनले बताए ।