हत्या गरेपछि कानुनी कारबाही छल्न हत्यामा संलग्नहरू फरार हुन्छन् । प्रहरीबाट टाढा हुन्छन् । तर, झापामा चाहिँ श्रीमतीको हत्यापछि एक पुरुष श्रीमतीसँगै सुतेको पाइएको छ । उनी हुन्– गजेन्द्र बान्तावा राई । झापाको मेचीनगर नगरपालिका–११ को धाइजनमा डेरा गरी बस्दै आएका बान्तावाको श्रीमती शर्मिला तामाङ हुन् । उनको हत्या आरोपी श्रीमान् बान्तावा हुन् । यससम्बन्धी मुद्दा जिल्ला अदालत झापामा शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयले दायर गर्यो ।
सोही मुद्दाको अभियोग पत्रमा भनिएको छ, ‘ म विदेश जाने तयारी भइरहेको र श्रीमती जहिल्यै मादक पदार्थ (रक्सी) खाने भएकाले घर व्यवहार कसरी चल्ला भन्ने विषयमा तनावमा भएर श्रीमतीलाई सम्झाउँदा सम्झाउँदै अटेर गरी मलाई उल्टै हातपात गर्न खोजेपछि मलाई पनि रिस उठे पश्चात मैले निज श्रीमती शर्मिला तामाङलाई चुप लागेर सुत भनि निजको घाँटीमा थिची सुताए पश्चात निज श्रीमती केही नबोली केही प्रतिकृया नजनाई सुते पश्चात म पनि नसाको सुरमा भएकाले यत्तिकै निदाएछु ।’
घटनाको बेला बान्तावा पनि मातेका थिए । मातेकै सुरमा उनले मातेकी श्रीमतीको घाँटी थिचेको स्वीकारेका छन् । त्यसपछि श्रीमती तामाङ प्रतिक्रियाविहीन भएको र आफू सुतेको बयान दिएका छन् । बिहान साढे ५ बजेतिर पिसाब फेर्न उठेको र त्यसबेला श्रीमती तामाङ सुतिरहेको उनको भनाइ छ । पिसाब फेरेर आएपछि भने राति मातेको सुरमा के के भयो भनेर श्रीमती तामाङको नजिक जाँदा उनको मृत्यु भइसकेको थाहा पाएको भनेका छन् ।
अभियोग पत्रमा श्रीमतीको मृत्यु भएको थाहा पाएपछि आफू अत्तालिएको र हल्लाखल्ला गर्दा घरधनी आएको पनि बान्तावाको बयान छ । अनि, माइतीहरू र प्रहरी आएर श्रीमतीको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको उल्लेख छ ।
तर, आश्चर्यजनक चाहिँ के छ भने बान्तावा पक्राउ परेनन् । उनलाई त्यसबेला सामान्य सोधपुछ गरेर छाडियो । उनै बान्तावाले त्यसपछि श्रीमतीको काज किरिया गरे । जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको मातेर निधन भएको भन्दै जाहेरी दिए । अनि, कतार २०७९ को साउनमा कतार उडे । घटना भएको चाहिँ ३ मङ्सिर २०७८ हो । यसबीचमा प्रहरीले तामाङको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा बान्तावाको संलग्नता रहेको क्लु फेला परे । यसपछि इन्टरपोलमा रेड नोटिस जारी गराए । अन्तत: उनलाई गत १३ कात्तिकमा कतार प्रहरीले पक्राउ गरेर नेपाल पठायो । यसपछि नेपाल प्रहरीले उनीमाथि अनुसन्धान गर्यो । सोही अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय झापाले शुक्रबार मात्रै जिल्ला अदालतमा बान्तावाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको हो ।
अभियोग पत्रमा उनको भनाइ छ, ‘कानुनबमोजिम म सहन/भोग्न तयार छु ।’ जिल्ला सरकारी वकिल कार्यालय झापाका सहायक न्यायाधिवक्ता तेजप्रसाद सिञ्जाली मगरका अनुसार जाहेरीकर्ता मृकतका दाजु राजेन्द्र तामाङ हुन् ।
हत्या आरोपी बान्तावाले मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिमको कसूर गरेको दाबी सरकारी वकिल कार्यालयको छ । सोहीकारण उनीविरुद्ध सोही संहिताको दफा १७७ (२) बमोजिम जन्मकैदको सजाय माग दाबी गरिएको सहन्यायाधिवक्ता मगरले बताए । वकिल कार्यालयले गरेको माग दाबीअनुसार जन्मकैदको फैसला अदालतबाट भए बान्तावा २० वर्ष जेलमा हुनेछन् ।
०००
शर्मिला कान्छी श्रीमती
पहिलो श्रीमती सुष्मा राईले गजेन्द्र बान्तावालाई छाडेर अर्कैसँग बिहे गरिन् । त्यसपछि शर्मिला तामाङसँग गजेन्द्रको प्रेम सम्बन्ध स्थापित भयो । करिब दुई वर्ष उनीहरू प्रेम सम्बन्धमा रहे । अन्तत: भगाएर बान्तावाले तामाङलाई कान्छी श्रीमतीको रूपमा भित्र्याए । झापाको मेचीनगर नगरपालिका–११ को धाइजनमा डेरा लिएर बसे । यो २०७३ सालको प्रसङ्ग हो । त्यसपछि उनी कतार गए । कोभिडकालमा आए तर फर्किन पाएनन् । त्यसपछि उनी श्रीमतीसँगै बसे । उनका अनुसार श्रीमती शर्मिला अधिक रक्सी पिउँथिन् । उनी पनि पिउँथे । कहिलेकाहीँ उनीहरूबीच झगडा हुन्थ्यो । परिणामत: हत्याजस्तो जघन्घ अपराध भएको पाइएको छ ।


















