आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा चिकित्सा शिक्षा आयोगको बैठक बस्ने भएको छ।
चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा निजी मेडिकल कलेजसँग विवाद भइरहेका बेला चिकित्सा शिक्षा आयोगको बैठक बस्न लागेको हो ।
आयोगले पीजी अध्ययन गर्ने चिकित्सकहरुलाई ८ औं तहका चिकित्सक बराबर निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । तर, यो निर्णयले आर्थिक भार थप्ने भन्दै निजी मेडिकल कलेजहरुले पीजीमा भर्ना नै लिएका छैनन् ।
चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार आवासीय चिकित्सकहरुलाई ८औं तहको चिकित्सक बराबर निर्वाह भत्ता दिने हो भने पीजीको शुल्क ६० लाख बनाउनुपर्ने निजी मेडिकल कलेजहरुको माग छ ।यही विषयमा निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबीच विवाद हुँदा ७०० भन्दा बढी विद्यार्थीहरु पीजी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ ।


















