इतिहासले नेतृत्वको खोजी गरिहेको हुन्छ । नेतृत्व सहि व्यक्तिको हातमा पर्यो भने उसले ढुङ्गालाई पनि मोति बनाइदिन सक्छ तर नेतृत्व गलत व्यक्तिको हातमा गयो भने उसले मलिलो खेतलाई पनि मरभूमि बनाउँदो रहेछ । इतिहास आफैमा प्रमाण हो, सिंगापुर छुट्टिदां लि क्वान यू सँग वन्जर सिंगापुर थियो मलेसियाले सम्भावना नदेखेर त्यागेको भूमि थियो सिंगापुर तर त्यहि वन्जर सिंगापुरलाई लिक्वान यूले विश्वको श्रेष्ठतम देश मध्येको एक बनाइदिए ।
प्रसंग प्रथम विश्वयुद्धको हो जर्मनका राजा विलियम द्वितियको नीति र अदुरदर्शी कारणले विस्मार्कले बलियो बनाएको जर्मनी प्रथम विश्व युद्धमा फस्न पुग्यो । जर्मनले युद्ध मात्र गरेन, युद्धमा पराजित भई युरोपको कंगाल देशमा परिणत भयो । वास्तवमा प्रथम विश्व युद्धको लागि जर्मनका राजा विलियम दोस्रोको नीतिनै जिम्मेवार थियो । कि संसार विजय कि सर्वनाश भन्ने उनको महत्वाकांक्षी नीतिले जर्मनलाई त कंगालनै बनायो भने संसारलाई विश्वयुद्धमा फसाई दियो । त्यस्तै जर्मनका चान्सलर हिटरको नीति पनि दोस्रो विश्वयुद्धको लागि जिम्मेवार मानिन्छ ।
भनिन्छ नीति र नेतृत्व गलत हातमा पुग्यो भने त्यसले सर्वश्रेष्ठ पद्धतिलाई पनि ध्वस्त बनाई दिन्छ । प्रसङ्ग नेपाल कम्युनिष्ट पार्टी एमालेको हो । वि.सं. २०२८ को झापा आन्दोलनबाट सुरु भएको तत्कालिन माले नेपालका दिग्गज कम्युनिष्ट नेताहरु सि.पि. मैनाली, मोहनचन्द आधिकारी हुँदै चमत्कारिक नेतृत्व कलाका धनि मदन भण्डारीले २०४८ साल आइपुग्दा नपुग्दै संसारको ध्यान केन्द्रीत गर्न सफल भए । २०४८ ताका अमेरिकाबाट प्रकाशित हुने पत्रिकाले कार्लमाक्र्सको जन्म नेपालमा भयो भन्न समेत भ्यायो । विश्व कम्युनिष्ट आन्दोलनमा आएको नकारात्मक प्रभाव, सोभियत संघ लगायत पूर्वि युरोपका देशबाट कम्युनिष्ट शासन पद्धति समाप्त भइरहेको अवस्थामा मदन भण्डारीको नीति र नेतृत्वले संसारका कम्युनिष्ट विचारधारा राख्ने जो कोहीलाई पनि आकर्षित मात्र गरेन आशा र भरोसा समेत दिलायो । मदन भण्डारीको मृत्यु पश्चात एमालेमा नीतिगत, बैचारिक र नेतृत्वमा विचलन देखा पर्न थाल्यो । एमालेको गलत नीति र नेतृत्वको कारण एमालेले विभाजनको पिडा भोग्नु परयो । संस्थापक मध्येका एक सि.पि मैनालीले एमाले छोड्नु परयो । लगगभ १५ वर्ष एमालेको नेतृत्व सम्हालेका माधव नेपालहरुले पार्टी विभाजन गरी एकिकृत समाजवादी पार्टी बनाउनु परयो ।
कुनै समय नेपालको बैकल्पिक राजनीतिको केन्द्र बनेको र नेपाली जनताको आशा र भरोसाको केन्द्र विन्दु रहेको एमाले पार्टी आज नेतृत्व विरुद्ध आवाज उठाउँदा आवाजहरु कारवाहीको कोपभाजनमा परेका छन् । आफ्नो गल्ती कमजोरी छोप्न अरु तिर तीर तेर्साउन खोजिएको छ । कतै आजको यो एमालेको हविगत नीति र नेतृत्वसँग जोडिदैन ? जसरी विस्मार्कले जोडेको जर्मनी विलियम दोस्रोले भताभुङ्ग पारिदिए कतै मदन/आश्रित र माधवहरुले निर्माण गरेको पार्टी नेतृत्वकै कारण भताभुङ्गत हुन त खोजिरहेको छैन ? आज जनता बिच प्रश्न उब्जिएको छ ।
यदि नीति र नेतृत्वको कारण एमाले जस्तो पार्टीमा विचलन देखिन थाल्यो भने पार्टी निर्माणमा भूमिका खेलेका आम कार्यकर्ताले सोच्ने कि नसोच्ने ? कुनै पनि पार्र्टी कुनै अमुक नेता र नेतृत्वको नीजि कम्पनी होइन व्यक्तिसँग पार्टी सति जान हुँदैन भन्ने बहस एमाले पङतीमा शुरु भएको चर्चा छ । एकातिर घृतराष्ट्रको फौज उच्चाकांक्षाको बन्दी बनेको छ भने अर्कोतिर एमाले भित्रका संगठक मदन भण्डारीकी धर्मपत्नि जसले आफूलाई सन्तुलित र सौम्य राजनीतिको पर्याय बनाउन सफल भएकी छिन् तिनको खोजी एमाले वृत्तमा हुन थालेको छ । विरासत बोकेको नेतृत्व आजको झमेलामा निरपेक्ष रहन सक्दैन । मदन भण्डारीको विरासत जोगाउन र एमालेमा देखिएको भद्रगोल मिलाउन पनि देशले विद्याको आवश्यकता महशुस गरिरहेको छ एमाले पङ्तीमा समेत यो बहसको शुरुवात भएको हल्ला चल्न थालेको छ ।
देश कठीन मोडमा छ । चारैतिरबाट कम्युनिष्ट आन्दोलनमाथि प्रहार भैरहेको छ । सरकार अकर्मण्य देखिन्छ । विदेश नीति भत्ताभुङ्ग छ यस्तो परिस्थितिमा कुनै पनि नागरिक निरपेक्ष बन्न सक्दैन । देश प्रतिको दायित्व र जिम्मेवारीको महशुस गरी फेरी एक पटक विद्याहरुको आवश्यकता देशले महशुस गरेको छ । एमालेले महशुस गरेको छ ।


















