आज पनि सकिएन रवि लामिछानेको बयान, भोलि सकेर पोखरा लगिने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आइतबारका लागि सकिएको छ । शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आइतबार बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो । तर बयान अझै नसकिएकाले सोमबार पनि जारी रहने भएको छ ।

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा सोमवार सम्म काठमाडौंमै रहने भएका छन । बयान सकिएपछि सम्भवत: भोलि पोखरा फर्काइने छ । शुक्रबार बिहानदेखि सुरू भएको बयान त्यस दिन अपरान्ह ३स्३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । आइतबार पनि उनले झन्डै ५ घन्टा लामो बयान दिएका छन् ।

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा बयान लिन काठमाडौं ल्याइएको हो। स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन् ।

त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ।