नेपाली कांग्रेस कोशीको प्रथम सम्मेलन आज

नेपाली कांग्रेस कोशीको प्रथम सम्मेलन विराटनगरमा आज जारी छ । उक्त सम्मेलनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा लगायतका नेता विराटनगर पुगेकाछन् ।
यस्तै गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पनि उक्त कार्यक्रममा सहभागी हुने जनाइएको छ । विराटनगरमै हुन लागेको उक्त सम्मेलनमा कांग्रेस नेता डाक्टर शेखर कोइराला भने सहभागी नहुने भएका छन् । कोइराला आजै हुने चितवनको एक कार्यक्रममा सहभागी हुन गएका छन् । कोइराला निकट स्रोतका अनुसार प्रदेशको सम्मेलनमा अतिथिको बरियताक्रममा असन्तुष्टि जनाउँदै उनी कार्यक्रममा सहभागी नहुने भएका हुन् ।
उता, कोइराला समूहले यसअघि मंसिर १८ र १९ गते विराटनगरमा प्रदेश स्तरीय पालिका सभापतिहरूको प्रथम भेला सम्पन्न गरिसकेको छ । उक्त भेला रोक्न संस्थापन पक्षले गरेको प्रयास असफल भएको थियो । भेलामा कोशी प्रदेशका १३७ वटा पालिका सभापतिमध्ये ११३ जना सहभागी भएका थिए भने ६ वटा महानगरका सभापतिहरू पनि सहभागी भएका थिए । भेलाले विभिन्न चार बुँदे निर्णय गरेको छ । उक्त निर्णय आजै हुने प्रथम प्रदेश सम्मेलनमा सहभागी हुन आएका सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी छ ।