राजनीतिमा लागेपछि राज्यको ढुकुटीमा रजगज गर्ने प्रवृत्ति अधिकांश राजनीतिज्ञहरूको छ । जुन जनताको चाहनाविपरीत हो । तर, कोही चाहिँ राजनीतिलाई सामाजिक सेवाको पाटोसँग जोड्छन् । जनताको सुख र दु:खमा सँगै हुन्छन् । त्यस्तो सीमित नेतृमा पर्छिन्– तारा भण्डारी ।
देशमा वैकल्पिक राजनीतिको पक्षमा उभिएकी तारालाई जनताको दु:खले असाध्यै पिरोल्छ । त्यही भएर जनताको दु:खमा उनी घरिघरी मलम लगाउँछिन् ।
शुक्रबार काठमाडौंको नारायणटारमा रहेको ‘बीआईए’ नामक संस्थामा पुगेर अपाङ्गता भएकाहरूलाई उनले खाना खुवाइन् । छोराहरू (प्रकाश र प्रवीन)को जन्मदिन पारेर उनले झण्डै डेढ सय जना अपाङ्गता भएका व्यक्तिहरूलाई खाना खुवाएकी हुन् ।
उनी लामो समयदेखि सामाजिक सेवामा छिन् । राजनीतिक व्यवस्था परिवर्तनका लागि १० वर्षे सशस्त्र संघर्षमा होमिएकी एक योद्धा भण्डारी सामाजिक सेवाको कामले आनन्दित हुन्छिन् । त्यही भएर उनले भनेकी छिन्, ‘सेवामा लाग्न कसले रोक्न सक्छ र ?’
‘सेवा नै धर्म हो’ भन्ने भनाइबाट भण्डारी प्रेरित छिन् । देशमा वैकल्पिक राजनीतिक धारको पक्षमा छिन् । गत आम चुनावमा उनी स्वतन्त्र रूपमा चुनाव लडेकी थिइन् । तर, चुनावमा उनलाई सफलता मिलेन । तैपनि, उनी सामाजिक कार्य मार्फत् जनतासँग सँगै भएर राजनीतिक जीवन अघि बढाउन क्रियाशील छिन् । उनको विचारमा पुराना दलहरू भ्रष्टाचारको दलदलमा फसे । जनताको चाहनाअनुसार देश विकास गर्न सकेनन् । परिणामत: उनी स्वतन्त्र राजनीतिको पक्षपाती भएकी छिन् ।


















