के हो शेरा बेँसी दरबार जग्गा हिनामिना प्रकरण ?

यति बेला नुवाकोटमा रहेको शेरा बेँसी दरबारको जग्गा हिनामिनाको प्रकरण निकै चर्चामा छ । गृहमन्त्री रमेश लेखकले सिआइबी प्रमुख दीपक थापालाई उक्त जग्गा प्रकरण छानविन गर्न निर्देशन दिए पछि यो बिषय चर्चामा आएको हो । शेराबेँसी दरबारको जग्गा हिनामिनाको प्रकरणको कथा भने यस्तो छ ।
जती बेला पृथ्वीनारायण शाह राजा थिए त्यसबेला पृथ्वीनारायण शाह जाडो महिनामा नुवाकोट डाँडामा रहेको दरबार र गर्मी महिनामा नुवाकोटको तादी किनारमा रहेको शेरा बेँसी दरबारमा बस्ने गरेको इतिहासबिद्हरु बताउँ छन ।

यो शेरा बेँसी दरबार १८४ रोपनीमा थियो । तर भूमिसुधार ऐन–२०२१, मालपोत ऐन–२०३४ लागु भएपछि शेरा बेँसी दरबारले चर्चेको १८४ रोपनी जग्गामा हदबन्दी लाग्ने भयो । हदबन्दी भित्रको जग्गा पुस्तैनी सम्पत्तिका रूपमा हस्तान्तरण हुँदै तत्कालीन राजा त्रिभुवनकी छोरी हेलेन शाहको नाममा १२ रोपनी र नातिनी जयन्ती शाहको नाममा ६ रोपनी ९ आना जग्गा आएको थियो । हदबन्दीभन्दा बढी रहेको १६४ रोपनी १३ आना जग्गा स्वत: सरकारको नाममा जाने व्यवस्था रहे पनि कृषि उत्पादन गर्ने प्रयोजनका लागि वा उद्योगका निम्ती भने हदबन्दी भन्दा बढी जग्गा उद्योग वा यस्तै प्रयोजनका निम्ती राख्न पाईन्थ्यो । सोही अनुरुप गौरीशङ्कर फार्मिङ कम्पनी खोली सो जग्गा भोगचलन सुरु गर्याे तर २०८० मंसिर १० गते सो जग्गामा गौरीशङ्कर फार्मिङ कम्पनीबाट अन्नपूर्ण फार्मिङको नाममा आएको थियो। त्यसका सञ्चालक काठमाडौँ बुढानीलकण्ठ स्थायी घर भएका विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठ छन् ।

सुरुमा सो जग्गा २०३५ फागुन १२ मा शेरा बेँसी दरबार र त्यसले चर्चेको जग्गा कित्ता नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गरी १३ कित्ता थियो जुन जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भएको थियो। सो जग्गा भूमिसुधार ऐन लागु भएपछि हदबन्दी लागु हुनुअघि शेरा बेँसी दरबार र त्यसले चर्चेको जग्गा तत्कालीन राज महेन्द्र वीरविक्रम शाहका भाइ अधिराजकुमार बसुन्धराकी श्रीमती हेलेन शाह र विजयराज्यलक्ष्मी शाहको अंशमा पर्न गएको थियो। त्यसपछि हदबन्दीका कारण सो जग्गा व्यक्तिको नाममा नापी हुन नसकेर गौरीशंकर फर्मिङका नाममा गराइएको थियो। सो फार्मिङ २०२७ सालमा स्थापना भएको थियो।

त्यसपछि २०५२ सालमा सो जग्गा अन्नपूर्ण फार्मिङका नाममा आएको थियो। त्यतिबेला अन्नपूर्ण फार्मिङका सञ्चालकहरू नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठसहित चारजनाको नाममा सेयर हस्तान्तरण भएको थियो। सोही फार्मिङमा २०७३ सालमा विकेश श्रेष्ठ सेयर सदस्य भएको र अहिले सम्पूर्ण स्वामित्व लिएपछि त्यसलाई प्लटिङ गरेर बेच्न लागेको अवस्थामा राज्यले नेपाल ट्रस्टको जग्गा भएको जनाउँदै अनुसन्धान अघि बढाएको हो। अन्नपूर्ण फार्मिङका सञ्चालकको नाता सम्बन्ध उच्च राजनीतिक नेतृत्वसँग जोडिएको स्रोतको दाबी छ। यी मध्ये एक जना प्रचण्ड प्रम हुदा उनको टिममा रहेका थिए । जनयुद्धका बेला जग्गा माओबादीले कब्जा गरेको थियो ।

नुवाकोटको विदुर नगरपालिका–२, साबिकको भैरवी गाउँ विकास समिति–७ मा रहेको सो जग्गा बिक्री गर्ने उद्देश्यले प्लटिङसमेत भइसकेको छ । श्रेष्ठ बुवाछोराले सो जग्गा आफ्नो नाममा ल्याउन खडा गरेको अन्नपूर्ण फार्मिङ कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गरेको कागजपत्र र सेयर सदस्यसमेत अवैध रहेको खुलेपछि सिआइबीले किर्ते कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको हो ।

नक्कली कम्पनी खडा गरी हिनामिना भएको पाइएपछि गृहमन्त्री रमेश लेखकले समेत सिआइबी प्रमुख दीपक थापासँग विस्तृत जानकारी लिनुभएको थियो ।
गौरीशङ्कर फार्मिङ कम्पनीबाट अन्नपूर्ण फार्मिङ कम्पनी परिवर्तन गर्दा र स्वामित्व हस्तान्तरणसमेत अपारदर्शी र बनावटी देखिएपछि सिआइबीले कम्पनी रजिस्ट्रारको कार्यालय र मालपोत कार्यालयमा पेस गरिएका कागजपत्र र इजाजत लिने र दिने दुवैमाथि अनुसन्धान अघि बढाएको छ ।

शेरा दरबारको जग्गा हिनामिना यसअघि नै जाहेरी परेपछि ब्युरोले प्रारम्भिक अनुसन्धान गरी उक्त जग्गा सरकारको नाममा ल्याउन भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदनसहित सुझाव दिएको छ । झन्डै चार महिना लगाएर तयार पारेको प्रारम्भिक अनुसन्धानमै सिआइबीले यस संलग्नमाथि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लेखी पठाइएको जनाएको छ ।

सिआइबी उच्च स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसमा पहिल्यैदेखि चासो राखिरहेकाले अनुसन्धान प्रतिवेदन आयोगमा पठाई अनुसन्धान अघि बढाउन आग्रह गरिएको हो । सिआइबीको प्रारम्भिक अनुसन्धानमा २०६६ र २०६७ सालमा कम्पनीमा सेयरधनी थप्दै चार जनाबाट सात जना बनाइएको थियो । २०७२ सालसम्म अन्नपूर्ण फार्मिङ कम्पनीमा सात जनाबाट चार जनामा झारेर विकेश श्रेष्ठ, अजयकुमार सूर्यवंशी र श्रवलाल श्रेष्ठमा कायम गरिएको पाइएको छ । हाल सो कम्पनीबाट सूर्यवंशी र श्रेष्ठलाई समेत हटाएर विकेशले छोरा मनोबल श्रेष्ठलाई कम्पनीमा ल्याएको खुलेको छ ।