कालयुक्त नामको संवत्सर, माघकृष्ण प्रतिपदा तिथि, तिष्य नक्षत्र, बालवकरण, मंगलबार, दिवम १४:५८ बजे, प्रवादनकाल, माघ १ गते सूर्य धनुराशिबाट मकरमा प्रवेश गर्दै दक्षिणायन हेमन्तऋतु पूरा भई उत्तरायण शिशिरऋतु माघमास प्रारम्भ हुँदैछ । मकर राशिमा सूर्य, कर्कटमा चन्द्रमा, वृषमा गुरु रहेको पर्व हो यो । सौर्यमासअनुसार १२ राशिमा सूर्य परिभ्रमण गर्ने क्रममा मकर राशिमा सूर्य सङ्क्रमण हुन जाँदा माघे सङ्क्रान्ति हुन्छ । सूर्य उत्तरायण भई हाम्रो भूगोलअनुसार दिनमान धेरै र रात्रिमान थोरै हुने हुँदा दिनको समयभन्दा रात्रिको समय कम हुने यो अवस्था सूर्य कर्कट राशिमा सरी श्रावण सङ्क्रान्ति नआएसम्म कायम रहन्छ । उत्तरायण (माघदेखि आषाढसम्म) लाई देवताको दिन र दक्षिणायन (श्रावणदेखि पौषसम्म) लाई देवताको रात भनिन्छ । रात र दिनको उत्तिकै महत्व हुनाले उत्तरायणमा नयाँ घर सर्ने, बिहे, ब्रतवन्ध आदि शुमकर्म बढी हुने गर्छ भने दक्षिणायन समयमा अधिकाँश मुख्य चाडपर्व चतुर्मासव्रत, महादशैँ, नागपञ्चमी, कृष्णजन्माष्टमी, रक्षाबन्धन, तिहार आदि पर्दछन् । पितृहरुका लागि विशेष उपासना गर्ने पितृपक्ष यसैबेला पर्छ भने मानिसको देहान्त बेलाचाहिँ तुलनात्मक रुपमा उत्तरायणलाई बढी शुभ मानिएको छ ।
तिथि, बार, नक्षत्र, योग र करण ५ अंग मिलेर पञ्चाङ्ग बन्छ, ज्योतिषशास्त्रको मूल आधार यही नै हो । प्र्रत्येक सङ्क्रान्ति सकेमा र नसकेमा श्रावण सङ्क्रान्ति, मकरसङ्क्रान्ति, मेष अर्थात् वैशाख सङ्क्रान्तिमा पन्चाङ्ग श्रवण गर्नाले घरैमा गङ्गास्नान गरेको पुण्य मिल्ने कुरामा पूर्वीयदर्शनले पुष्टि गरेको छ । महिना महिनामा आउने सङ्क्रान्ति (सङ्क्रमण) र कोठामा परिवर्तन हुने क्यालेण्डरका पानाहरुले आपूmले गरेका जीवन उपयोगी र समाज उपयोगी कामको गणना गर्न संकेत गर्छन् । ६,६ महिनामा हुने अयन परिवर्तनले अद्र्धवार्षिक समीक्षा र आत्मालोचना गर्न प्रेरित गर्छ । तृष्णा बढाउने, रोगवृद्धि गर्ने तर कालचक्रभन्दा माथि छु भन्ने अहं भावनालाई त्यागेर आगामी दिन बढी सुखद र आनन्दमय बनाउन सामाजिक सेवा र परहितकारी काममा प्रेरित हुने संकेत हो सङ्क्रान्ति भनौँ अयन परिवर्तन ! जीवन सन्तुलित र सौम्य सक्रिय र साहसिलो बनाउन आत्मबलको प्रेरणा दिन्छ, अयन परिवर्तनले !
यो महिनाका देवता माधव नारायण अनि देवी रुक्मिणी हुनुहुन्छ । शास्त्रले तिथिबारश्च नक्षत्रं योग: करणमेव च । पन्चागस्य फलं श्रुत्वा गंंगास्नान फलं लभेत् भनेको छ । माघ संक्रान्तिमा खिचडी, घिऊ, चाक्कु, तरुल, लड्डू, पालुँगो दान गर्ने, खाने खुवाउने गर्दा जीवनमा अधिक पुण्य हुने र जाडो, गर्मी शरिरको तापक्रम सन्तुलन हुने विश्वास गरिन्छ । विशेष मठ, मन्दिर, व्रत, पूजा, पाठ, पारायण, सत्संग गरी जीवन सार्थक बनाउने, ब्राह्मण वाक्य स्वस्ति वाचन गर्दै नयाँ लाउने, पुरानो खाने, भलो सुन्ने, भलो चिताउने, धर्मप्रतिको विश्वास र आपैmँप्रतिको इमान्दारिता दर्शाउने पर्व हो यो र यसलाई माघी पर्वका रुपमा पनि मनाइन्छ, आफन्तसंगको भेटघाट र शुभकामना आदान प्रदान गर्दै आप्mनो जीवनको अद्र्धवार्षिक समीक्षा गर्ने दिन पनि हो यो ।
हाम्रो देशले माघ १ गतेलाई स्वास्थ्य निरोगी बनाउने योगलाई राष्टिृयस्तरमै दिवसको रुपमा मनाउँदै आएको छ । भौतिक चिकित्साको पनि महत्व बढेको छ, आजको समयमा र वैकल्पिक चिकित्सा: योग, ध्यान, प्राणायामले पनि शरिलाई सुन्दर र निरोगी राख्न सकिन्छ, कतिपय प्रोष्टेड जस्ता शरिरका अँगहरु केवल योग, विभिन्न योगका आसनहरु, मकरासन, मण्डुकासन, कपालभाँती, अनुलोम, विलोम भनौँ आध्यात्मिक दर्शन योगशास्त्रले बताएको रेचक, पुरक, कुम्भक प्रक्रियाको श्वास प्रश्वास प्रणालीले मात्रै शरिर क्रियाशील, स्वस्थ र रोग प्रतिरोधात्मक क्षमता राख्ने हुन्छ । भ्रमण गर्दा पनि सक्रिय नहुने पुरुष प्रोष्टेड ग्रन्थीलाई स्वस्थ राख्न योग नै गर्नु पर्छ । लक्ष्य प्राप्ति, उद्देश्यमा सफलता, परम सिद्धि प्राप्ति परमात्मा नै प्राप्ति गर्ने धेरै उपायहरु छन् । त्यसमध्ये योग पनि एक हो । इन्द्रिय, मन, वुद्धिको वृत्तिलाई रोकेर व्यापक आत्माका साथ स्थापना गर्नुको नाम योग हो । योगाभ्यास एउटा उत्तम ज्ञान हो, यो प्राप्त गर्न शम र दम दुवै साधना चाहिन्छ । अध्यात्म शास्त्रको मूल विषय हो योग यसले जोड्ने काम गर्छ, सबैतिर । आत्मामा नै बढी अनुराग राख्ने, स्वयंको चिन्तन गर्ने, आफूभित्र परमात्मा खोज्ने प्रक्रियाको नाम योग हो । शास्त्रको तत्व जान्ने र शास्त्रले बताइएका कर्महरु गर्नेलाई योगी भनिन्छ । संसारबाट जोगिनुको नाम जोगी हो । योगी भनेको बाहिर देखिने जस्तै जोगीचाहिँ होइन । आत्माको जोड् परमात्मासँग जुटाउनेको नाम योग हो ।
निस्काम भावले कर्म गर्नुको नाम योग हो । काम, क्रोध, लोभ, मोह र भयबाट टाढा रहनुको नाम योग हो । स्वप्नबाट अलग रहनुको नाम योग हो । कोरा कल्पना योग होइन, यथार्थ विज्ञान हो यो । योगीको मूल स्वभाव सबैप्रति समदर्शी हुनु हो । आफ्नो र पराइमा भेद नहुनु हो । स्वार्थीपन स्वत: हटेर जानु, योगाभ्यासमा जानुु धर्मको रुप हो । योगीजनहरु कहिल्यै तनाव र आवेगमा आउँदैनन् । ज्ञान र विज्ञान त्यसैलाई प्राप्त हुन्छ जो भयरहित वातावरणमा हुर्कन्छ, काम गर्छ । समान भाव नै योगको चिन्ह हो । जे प्राप्ति हुन्छ त्यसैमा चित्त बुझाउनु पर्छ, मन र इन्द्रियलाई एकाग्र चित्तले रातको पहिलो प्रहर र रातको अन्तिम प्रहरलाई योग साधनामा विताउन राम्रो हुन्छ । योगबाट सिद्धि प्राप्ति हुन्छ । ५ इन्द्रिय मध्ये १ इन्द्रियबाट मात्रै पनि यी छिद्रहरु देखिए भने योगको पूर्णता हुन्न । साधकले शास्त्रीय ज्ञानलाई चुहिन दिनु हुँदैन । मनले मनलाई नै नियन्त्रणमा राख्नु पर्ने हुन्छ । म न अर्थात् म होइनको नाम नै मन हो । मनलाई वशमा राखेपछि इन्द्रियलाई वशमा राख्न सजिलो पर्छ ।
५ इन्द्रियलाई मनमा स्थापित गरेर इन्द्रिय सहित मनलाई बुद्धिमा प्रवेश गराउँदै आत्माको गहिराइमा मिलन गराउनुको अर्को नाम योग हो । इन्द्रियमा मलिनता हटाई मनको दुर्वलता हटाउन योगले गतिलो साधनको रुपमा काम गर्न सक्छ । यदि यस्तो भएमा स्वयं ब्रह्म साक्षात्कार हुन जान्छ । अनि आफू भित्रै साधकले स्वयं भगवान पाउन थाल्छ । योगीले आफ्नो अन्तकरणमा धुवाँ रहित अग्नि देख्न थाल्छ, दीप्तमान सूर्य देख्छ, आकाशमा चम्किलो विजुली स्वयं भित्र देख्छ । जीवमात्रमा ईश्वर देख्न थाल्छ । त्यही व्यक्तिलाई महात्मा र ज्ञानी, विद्वान् भनिन्छ, सबै प्राणीप्रति दया गर्न थाल्छ उसले । योगबाट अनेकौं अद्भूत रसको प्राप्ति भएको अनुभव हुन सक्छ । इच्छाअनुकूल जाडो, गर्मीको सहन क्षमता हुन्छ, शरीरमा स्फुर्ति बढेको अनुभूति हुन्छ ।
दिव्य, भोग्य पदार्थहरु आफ्नै वरिपरि प्राप्त भएको महसूस हुन्छ । जसरी धन चाहनेले सदैव धनकै इच्छा गर्छ ठीक त्यस्तै साधकले केवल योगकै चिन्तन गरि नै रहन्छ । इन्द्रियलाई स्वयं आपूmभित्र राख्छ, हृदय कमललाई आत्मभावमा राखेर एकाग्र चिन्तनमै मस्त हुन्छ ऊ, मन चञ्चल हुँदैन, साधनाबाट विचलित पनि हुन्न । नियमित आहार विहार गर्दै लाभ हानीलाई समभावले हेर्छ, कसैले प्रशंसा गरोस् या निन्दा उसको भाव सम नै हुन्छ । एउटाको भलाइ र अर्कोको निन्दा उसले गर्दैन । लाभ भएमा हर्षले गद्गद् हुँदैन, हानी भएमा खिन्नता बोध पटक्कै हुँदैन । वायुझँै ऊ संवेग विचरण गरेर पनि असंगत नै हुन्छ, चित्त स्वस्थ्य हुन्छ, समदर्शी हुन्छ, एकाग्र, स्थिर, धीर हुन्छ, वीर हुन्छ, लगातार ६ महिनासम्म यस्तो योगाभ्यास गर्दा ब्रह्म स्वयं साक्षात्कार हुन्छ– जस्तै बालक ध्रुवले केवल ६ महिनामा परमात्मा प्राप्त गरे, सिद्धि प्राप्त गरे । माघ महिनाभरिको विशेष चाड श्रीस्वस्थानी व्रतकथा पनि यही पौष शुक्ल पूर्णिमा पुस २९ गतेदेखि आरम्भ हुँदैछ । साँखु शालिनदीमा महिनाभरि मेला लाग्ने गर्छ, घरघरमा स्वस्थानीको पूजा र कथा हुन्छ ।


















