प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ माघ ३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ६ जना प्राविधिक प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू प्रभा पौडेल र भुलाराज खनाल तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. सुष्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार र डा. अनुज श्रेष्ठ रहनुभएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नभयो । पदोन्नति प्रत्येक प्रहरी कर्मचारीको व्यक्तिगत र व्यावसायिक जीवनको महत्वपूर्ण पक्षको रूपमा रहेको उल्लेख गर्दै आगामी दिनमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूबाट सम्पादन हुने कार्यको गुणस्तरमा समेत बढोत्तरी हुने अपेक्षा लिएको बताउनुभयो । साथै पदोन्नति सँगसँगै वृद्धि भएका जिम्मेवारीमा संगठनको लक्ष्य र उद्देश्य प्राप्तिको लागि उच्च स्तरको कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दैप्राविधिक प्रहरी उपरीक्षक प्रभा पौडेलले संगठन प्रति निष्ठावान् रही आ–आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूकोउपस्थिति रहेको थियो ।