ट्रम्प युगको सुरुवात, अमेरिकामा अब दुईवटा लिङ्ग मात्र हुने

अमेरिकामा रङ्गको विभेदको अन्त्य

डोनाल्ड ट्रम्पले अमेरिकी ४७ औं राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो ट्रम्प युगको सुरुवात गरेका छन् । उनले शपथ ग्रहण गरेसँगै आफ्नो कार्यकालको आरम्भमा विभिन्न प्रतिबन्ध लगाएसँगै केही देशहरुलाई झट्का सहित कडा चेतावनी दिएका छन् । पदभार ग्रहण गरेको केही घण्टाभित्रै राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसबाट विभिन्न दस्तावेजहरूमा हस्ताक्षर गरेर अनुमोदन गरे ।

राष्ट्रपतिले शपथग्रहण समारोहमा सबैभन्दा धेरै तालीको गडगडाहट त्यसबेला पाए, जब उनले अमेरिकामा दुईवटा मात्र लिङ्ग रहेको आधारमा नीतिहरू बन्ने बताए। उनले भने, “यो अबदेखि संयुक्त राज्य अमेरिका सरकारको आधिकारिक नीति हुनेछ–यहाँ दुई लिङ्ग मात्र छन्–पुरुष र महिला”। ट्रम्पले “सार्वजनिक र निजी जीवनका हरेक पक्षमा” जाति र लिङ्गका आधारमा गरिने “सोशल इन्जिनियरिङ”लाई विफल पार्ने वाचा गरे। उनले “कलर ब्लाइन्ड” अर्थात् रङ्गहरू नचिन्ने र “योग्यतामा आधारित” देश बनाउने वाचा पनि गरे।

त्यसैगरी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा गरेका छन् भने लागुपदार्थ तस्करहरूको गिरोह, कार्टेलहरूलाई आतङ्कवादी संगठन घोषणा समेत गरेका छन्। ट्रम्पद्वारा हस्ताक्षर गरिएको कार्यकारी आदेश समीक्षा हुँदा सबै अमेरिकी वैदेशिक विकास सहायतालाई ९० दिनको लागि स्थिर राखिएको छ । व्यवस्थापन तथा बजेट कार्यालय र ९०–दिनको अवधिबाट केही कार्यक्रमहरू बहिष्कार गर्ने अधिकार भएका राज्य सचिव मार्को रुबियोको पर्यवेक्षणमा, कार्यकारी आदेशले संघीय एजेन्सीहरूलाई गहन जाँच गर्न निर्देशन दिइनेछ।

ट्रम्पले पहिले नै युक्रेन जस्ता राष्ट्रहरूलाई अमेरिकी अन्तर्राष्ट्रिय सहायताको आलोचना गर्दा अमेरिकी करदाताहरूमा वित्तीय भार घटाउने र घरेलु मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने वाचा समेत गरेका छन्।

त्यसैगरी ट्रम्पले सपथग्रहण कै क्रममा मञ्चमा राखिएको डेस्कबाट बाइडन प्रशासनले लागु गरेका झण्डै ८० वटा प्रावधानहरूलाई उल्टाइ दिएका थिए र प्यारिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए।

राष्ट्रपति बनेपछि ट्रम्पले चालेका महत्वपूर्ण कदमहरु
“डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी” नाम दिइएको सरकारी खर्च प्रभावकारीता सम्बन्धी विभागको स्थापना, जुन औपचारिक सरकारी विभाग भने होइन।
“लैङ्गिक विचारधाराबाट महिलाहरूको प्रतिरक्षा” र “संघीय सरकारमा जैविक सत्यताको पुनस्र्थापना”
विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने प्रकृयाको थालनी
अमेरिकाको दक्षिणी सिमानामा “राष्ट्रिय सङ्कटकाल” को घोषणा
टिकटक विरुद्धको प्रतिबन्ध कार्यान्वयनमा आउनमा अस्थायी रोक लगाउने कार्य ।
६ जनवरीको दङ्गामा संलग्नहरूलाई क्षमादान
राष्ट्रपति ट्रम्पले जारी गरेका यी आदेशहरू ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित गरिएको छ।

क्षमादान
राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशबाट चार वर्ष अघि अमेरिकी संसद् भवन क्यापिटलमा जबर्जस्ती प्रवेश गरेर हुलदङ्गा भएको घटनामा संलग्न झण्डै १६ सय जनालाई जेलमुक्त गरिएको छ । त्यस घटनामा उनका समर्थकहरूले त्यसबेलाको राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई उल्टाउने प्रयास गरेका थिए।

मृत्युदण्डसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर
हालै राष्ट्रपतिको रूपमा शपथ लिएका ट्रम्पले मृत्युदण्डसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका छन् । यस आदेश अन्तर्गत न्याय विभागलाई गम्भीर संघीय मुद्दाहरूमा दोषी ठहरिएकाहरूलाई मृत्युदण्डको माग गर्न भनिएको छ । ट्रम्पले महान्यायाधिवक्तालाई सबै राज्यहरूमा अपराधीहरूलाई मृत्युदण्ड दिन पर्याप्त विषालु सुईहरू उपलब्ध गराउन निर्देशन पनि दिए । ट्रम्पको यो आदेशसँगै अमेरिकामा मृत्युदण्डमाथिको प्रतिबन्ध हटेको छ । अमेरिकामा महान्यायाधिवक्ता मेरिक गारल्याण्डको आदेशमा २०२१ मा मृत्युदण्डलाई निलम्बन गरेका थिए । उक्त निर्णयको ट्रम्पले कडा आलोचना गरेका थिए र गम्भीर अपराधका दोषीहरूलाई मृत्युदण्ड दिइनु पर्नेमा जोड दिएका थिए । आफू सत्तामा फर्किएपछि मृत्युदण्ड पुन: सुरु गर्ने उनले बताएका थिए ।

ट्रम्पले महान्यायाधिवक्तालाई संघीय क्षेत्राधिकार प्रयोग गर्न र गम्भीर अपराधहरूमा अन्य कारकहरूलाई ध्यान नदिई मृत्युदण्डको माग गर्न निर्देशन दिएका छन् । योसँगै कानुन प्रवर्तन अधिकारीको हत्या वा अवैध आप्रवासीद्वारा कसैको हत्याको मामिला मृत्युदण्डको सजाय सुनिश्चित भएको छ ।

टिकटकले पायो ७५ दिनको राहत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार देशमा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको सेवा पुन: स्थापनाको अवधि बढाएका छन् । चिनियाँ स्वामित्वमा रहेको टिकटकको सञ्चालन ७५ दिन बढाउने कार्यकारी आदेशमा उनले हस्ताक्षर गरेका छन् । यो अवधिभित्र ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट बचाउने र राष्ट्रिय सुरक्षालाई पनि सुरक्षित गर्ने प्रस्ताव अगाडि बढाउने योजना बनाएका छन् । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् ।

आजदेखि ७५ दिनको अवधिसम्म अधिनियम लागू गर्न कुनै कारवाही नगर्न आफूले महान्यायाधीवक्तालाई निर्देशन दिइरहेको ट्रम्पद्वारा हस्ताक्षर गरिएको कार्यकारी आदेशमा भनिएको छ । यसबाट राष्ट्रिय सुरक्षालाई रक्षा गर्ने उचित तरिका निर्धारण गर्न र व्यवस्थित तरिकाले अगाडि बढ्न आफ्नो प्रशासनले अवसर पाउने अनि लाखौं अमेरिकीहरूले प्रयोग गर्ने सञ्चार प्लेटफर्म अचानक बन्द हुनबाट रोकिने पनि उल्लेख गरिएको छ ।

साथै क्यानाडा र मेक्सिको आयात निर्यात गरिने सामाग्रीमा २५ प्रतिशत करदर फेब्रुअरी १ गतेबाट लागु हुने गरी ट्रम्पले घोषणा गरेका छन् ।
यसरी डोनाल्ड ट्रम्पले ट्रम्प युगलाई पुन परिभाषित गर्दै अमेरिकामा नयाँ नीतिको थालनी गरेका छन् यसले विश्व अर्थतन्त्र, विश्व राजनीति र अमेरिका चीनसम्बन्धमा कस्तो प्रभाव पार्ने हो प्रतिक्षाको विषय बनेको छ ।