आजबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनको बैठकबाटै निलम्बन फुकुवा गर्न सभामुख समक्ष रबि लामिछाको निवेदन

काठमाडौँ । रास्वपाका निलम्बित सांसद रवि लामिछानेले निलम्बन फुकुवाको निवेदन दिएपछि सभामुख देवराज घिमिरेले विद्यमान कानुन र संसद् नियमावलीको अभ्यासबारे स्मरण गराएका छन् ।

लामिछानेले आज सुरु हुने संसद्को हिउँदे अधिवेशनको बैठकबाटै निलम्बन फुकुवाको लागि सभामुखलाई निवेदन दिन आजै शुक्रवार सभामुखलाई भेट्न सिंहदरबार पुगेका थिए ।

सभामुखलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।
जवाफमा सभामुखले विद्यमान कानुन, संसद् नियमावली र अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताएका थिए ।
‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरू कोही थियो । आज म छु । भोलि अरू कोही हुनसक्छ । तर पदमा रहँदा कानुनको परिपालना गर्नु मेरो दायित्व हो’, सभामुखले लामिछानेलाई भने, ‘तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद् सुरु हुने अन्तिम समयमा छौँ ।’