मुक्कुमलुङ (पाथीभरा)मा केवलकार विवाद : नौ जिल्लामा आमहड्ताल

ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा केवलकार निर्माणलाई लिएर उत्पन्न विवादबीच ‘नो केवलकार’ पक्षले अरुण–सभाखोला पूर्वका नौ जिल्लामा आमहड्ताल जारी राखेको छ । आइतबारदेखिको आमहड्तालले त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

आन्दोलनकारीले आमहड्ताल जारी राखेपछि केन्द्र सरकारले वार्ता समिति गठन गरिसकेको छ । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन भएको हो । तर, ‘नो केवलकार’ पक्षले सरकारी वार्ता समिति अस्वीकार गरेको छ । कर्मचारी नभई राजनीतिक नेतृत्वको नेतृत्वमा गठन हुने वार्ता समितिसँग मात्रै वार्ता गर्ने मुक्कुलुङ संयुक्त सङ्घर्ष समिति संयोजक श्रीप्रसाद लिम्बूले बताए । कर्मचारी नेतृत्वको वार्ता समितिले केवलकार निर्माणलाई लिएर उत्पन्न समस्यालाई तार्किक निष्कर्षमा पुर्‍याउन नसक्ने आन्दोलनरत पक्षको तर्क छ ।

सरकारी वार्ता टोलीले भने आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेर वार्तामा आउन आह्वान गरेको छ । तर, आन्दोलनरत पक्षको अस्वीकारपछि सरकारको थप जवाफ आएको छैन । आमहड्ताल भने ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, झापा, मोरङ र सुनसरी भएको छ । सोही क्रममा आइतबार झापा र सुनसरीबाट गरी १४ जना आन्दोलनकारी पक्राउ परेका छन् । ताप्लेजुङमा मात्रै तीन जना आन्दोलनकारी पक्राउ परेका छन् ।

आइतबार त्यहाँका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बोलाएको सरोकारवालाहरूको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको थियो । सरोकारवालाहरूले आन्दोलनरत पक्षलाई वार्तामा ल्याउन कम्तीमा केवलकार निर्माण स्थगन गर्नुपर्ने र पक्राउ परेकाहरूलाई रिहा गर्नुपर्ने माग गरेका थिए । तर, प्रमुख जिल्ला अधिकारी शर्मा त्यसमा सकारात्मक भएनन् । त्यसपछि स्थानीय प्रशासनको संयोजनमा विवाद समाधानका लागि गर्न खोजिएको भनिएको प्रयास विफल भयो ।
त्यहाँ यही १२ माघका गोली चलेको थियो । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ को काफ्लेपाटी नजिकै रहेको बलुडाँडामा आन्दोलनकारी र सशस्त्र प्रहरीबीच तनाव उत्पन्न हुँदा गोली चलेको थियो । सशस्त्र प्रहरीले प्रहार गरेको गोली लागेर तीन जना आन्दोलनकारी गम्भीर घाइते भए । उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अन्य दुईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

गृह मन्त्रालयले त्यसबेला २१ जना सशस्त्र प्रहरी सामान्य घाइते भएको जनाएको थियो । सोही दिनको घटनापछि ‘नो केवलकार’ले झण्डै एक साता मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात बन्द गर्‍यो । तर, माग सुनुवाइ नभएको भन्दै आइतबारदेखि अरुण–सभाखोला पूर्वका नौ जिल्लामा आमहड्ताल आह्वान गरेका हुन् ।

आन्दोलनरत पक्षले वार्तामा बस्नुअघि केबुलकार निर्माण खारेज गर्नुपर्ने, नामजागे भनिने काफ्लेपाटीबाट सशस्त्र र नेपाल प्रहरी फिर्ता गर्नुपर्ने, पक्राउ परेकाहरूलाई रिहा गर्नुपर्ने, घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचार हुनुपर्ने, १२ माघमा भएको गोली प्रहार घटनाको उच्चस्तरीय समिति गठन गरेर छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखेको छ । यस्तै, घाइतेहरूलाई आजीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र पाथीभरा क्षेत्र विकास गठन आदेश (संशोधित २०७५) मा करिब ३ हजार घरपरिवार विस्थापित हुने भएकोले सोको खारेजी माग गरेका छन् ।

मुक्कुमलुङ (पाथीभरा)को रोचक किंवदन्ती

लिम्बू समुदाय पाथीभरालाई मुक्कुमलुङ भन्छन् । पाथीभरा डाँडामा अनेक लीला गर्ने युमा भएको विश्वास लिम्बू समुदायको विश्वास छ । लिम्बू भाषाविद् दिलेन्द्र कुरुम्बाङका अनुसार फेदाङमा, साम्बा, येबाहरूले मुन्धुम फलाक्दा मुक्कुमलुङ माङ, सेमुक्तु मुक्तुबो माङ, सेमुक्तु मुक्तुबुङ र मुक्तिगो:क् चेप्तीगो:क् मुक्तीफो माङ भन्दै पुकार्ने गरेको गरेका छन् ।

उनका अनुसार तागेरानिङवाफु माङलाई लिम्बू समुदाय सर्वशक्तिमान ईश्वर मान्छन् र जसलाई युमाकै अर्को रूप मान्ने गरिन्छ । तागेरानिङवाफु माङ निराकार, अदृश्य र सर्वव्यापक भएको र कहिलेकाहीँ मानव स्त्रीको रूप धारण गरेर मानिसलाई दर्शन दिन्छन् भन्ने विश्वास पनि उनीहरूको छ ।
मिथकमा युमा र मुक्कुमलुङको कथा जोडिने बताइन्छ । मुन्धुम र मिथकअनुसार युमाको लीला विभिन्न स्थानमा अनेक भूमिकामा आउँछ । कहिले बालिका, कहिले जवान, कहिले वृद्धा स्त्रीको रूप लिएर तान बुन्ने, थुन्से बोकेर हिँड्ने युमाले तेह्रथुम, पान्थर, मधेश, हिमाल जताततै डुल्दै मानिसहरूलाई दर्शन दिएको किंवदन्ती छ ।’

सोहीकारण लिम्बूहरूले मुक्कुमलुङ भनिने पाथीभरालाई मुन्धुमीस्थल भन्दै आएका छन् । धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा पनि मान्ने गरेका छन् र उक्त स्थानमा केबुलकार बनाउँदा मुक्कुमलुङको महिमा नामेट हुने उनीहरूको चिन्ता छ । लिम्बू समुदायले ‘मुक्कुमलुङ’ भनिने धार्मिकस्थललाई हिन्दु धर्मावलम्बीहरू भने पाथीभरा भन्छन् । यो हिन्दूहरूको प्रसिद्धमध्येको एउटा धार्मिकस्थल भइसकेको छ । श्रद्धालु भक्तजनहरू टाढा टाढादेखि दर्शन गर्न त्यहाँ पुग्छन् । उनीहरूको विश्वासमा त्यहाँ काली देवी छ र अधर्मीहरूको नाश गर्ने र पवित्र मन भएकाहरूको कल्याण गर्ने धार्मिक विश्वास छ ।

यो पाथीभरासँग जोडिएको एउटा चर्चित कथा पूर्वमा नसुन्ने सायदै होला । कथा वि.स.१९८४–८५ तिरको हो । हालको फुङ्लिङ नगरपालिका–१० फुरुम्बोका गुरुङ भेडी गोठालाहरूको भेडीगोठ पाथीभरा डाँडा थियो । कथाअनुसार एक दिन गोठमा भएका भेडा सबै हराए । भेडी गोठाला चिन्तामा थिए र सपनामा एक स्त्री आएर भनिन्, ‘म बस्ने ठाउँमा फोहोर गर्‍यौ र म रिसाएँ । तिम्रा भेडा मसँग छन् । मैले भनेजस्तै गर्‍यौ भने हराएका भेडा ल्याइदिन्छु ।’
ब्युँझिएपछि गोठालाले उक्त ठाउँमा देवी रहेको अनुमान लगाए । अनि, तिमीलाई रोज्जा भेडा भोग दिन्छु, हराएका मेरा सबै भेडा ल्याइदिनुपर्‍यो भन्दै भाकल गरेको कथन छ । भाकल गरेपछि पूर्ववत् अवस्थामा भेडाहरू देखिएको कथ्य परम्परा आजपर्यन्त छ । यससँगै त्यहाँ पूजा गर्न थालिएको त्यो डाँडा अन्न भर्ने पाथीजस्तो देखिएकाले पाथीभरा देवी नामकरण भएको बताइन्छ ।

यति महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक केन्द्र क्षेत्र यतिबेला अशान्त छ । अशान्त हुनुको कारण त्यहाँ केबलकार निर्माणको विषयले हो । मुक्कुमलुङ भनिने पाथीभरालाई लक्षित गरी ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किलोमिटर लामो केबलकार निर्माण कार्य भइरहेको छ । मुख्य लगानीकर्ता उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हुन् । उनी नेतृत्वको पाथीभरा मुक्कुमलुङ केबलकार प्रालिले केबलकार निर्माणको काम थालेको थियो । २०७५ सालदेखि त्यस क्षेत्रमा केबलकार बनाउन हुँदैन भन्दै खासगरी लिम्बू समदायले विरोध गर्दै आएका छन् ।