बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग मर्मतमा तिव्रता दिन मन्त्री दाहालको निर्देशन

गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गकोे भकुण्डेबेँसी देखि नेपालथोक सम्मका विभिन्न खण्डका सडक सडक विभागले मर्मतको काम थालेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानेका अनुसार राजमार्गको १३ किलोमिटर खण्डमा बढि क्षति पुर्‍याएको छ ।

त्यस मध्ये ८.५ किलोमिटर सडक पूर्णरुपमा बगाएको छ । न्यौपानेका अनुसार हाल उपकरण तथा जनशक्ति परिचालन गरि विभिन्न खण्डको मर्मत भई रहेको छ । ‘बाढी क्षति पुर्‍याएको १३ किलोमिटर मध्ये ८.५ किलोमिटर सडक पूर्ण रुपमा बनाउनु पर्ने भएको छ भने बाँकि खण्डमा सडक चौडा पार्ने, सम्याउने, ग्राभेल भर्ने लगायतका काम गर्नु पर्ने हुन्छ ।

सो सडक खण्ड मर्मतका लागि भक्तपुर तथा खाल्डे डिभिजन परिचालित भएको छ विभागकै श्रोत, साधन र जनशक्तिलाई अधिकतम उपयोग गरि क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको पनि न्यौपानेले सान न्युजलाई बताउनु भयो । उहाँले काम नभएका स्थानहरुबाट यन्त्र, उपकरण ल्याएर भए पनि कामलाई तिव्रता दिने बताउनुभएको छ ।

यसै गरि सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले पनि बीपी राजमार्गकोे भकुण्डेबेँसी देखि नेपालथोक सम्मका विभिन्न खण्डका सडक पहिलो प्राथमिकतामा राखेर मर्मत थालेको जानाकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘अहिले हामीले बीपी राजमार्गलाईनै पहिलो प्राथमिकता दिएका छौं, आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको श्रोत साधनको अधिकतम उपयोग गरि काम गरिरहेका छौ ।

योगेशले आवश्यक परे रातीको समयमा समेत काम गरि मर्मतलाई चुस्त र तिव्र पारिने बताउनु भएको छ ।सो राजमार्गमा क्षति पुर्‍याएको सडकमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरि मर्मत तथा पुननिर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिई सक्नु भएको छ । गत शनिबार मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, भक्तपुर तथा खाल्डे डिभिजनका प्रमुख लगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले पुननिर्माणमा श्रोत अभाव हुन नदिने भन्दै मर्मत एवम् पुननिर्माणलाई तिव्रता दिन निर्देशन दिनु भएको थियो ।