केआईआईटी कलेजमा प्रदर्शन गर्ने विद्यार्थीलाई पिट्ने दुई सुरक्षागार्ड पक्राउ

भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्युबारे गम्भीर अनुसन्धानको माग गर्दै आएको प्रदर्शनमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई सुरक्षागार्ड पक्राउ परेका छन् ।

भुवनेश्वर प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षागार्ड ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बोहोरालाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो ।

लम्साललाई सोही युनिभर्सिटीमा अध्ययनरत अड्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए । त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही भएको थिएन ।

यस्तोमा लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । तर, सोमबार युनिभर्सिटी प्रशासनले विद्यार्थीको प्रदर्शनलाई दबाउन लाठी चार्ज गरेको थियो ।

होस्टलबाट नेपाली विद्यार्थीलाई बाहिर निकालेको थियो । होस्टलका सुरक्षागार्डले कुटपिट गरेको भिडियो भाइरल भएपछि यस विषयमा प्रहरीमा समेत उजुरी परेको थियो । थप अनुसन्धान गरिरहेको भुवनेश्वर प्रहरीले जानकारी दिएको छ ।