अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं महानगरपालिका१६ माछापोखरीस्थित होटल ग्रिष्माबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ५७ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका३ पुरान चोक घर भई हाल काठमाडौं महानगरपालिका१६ बसन्तनगर बस्ने ४० वर्षीय दिपक राय समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा अवैध लागूऔषध खरीद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका७ बस्ने २८ वर्षीय संजिव जिमि र २४ वर्षीय अभिषेक तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका५ यातायात कार्यालय पछाडि सडक छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय ३० मिलिग्राम र चरेश २ किलो १ सय ७५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ केदारस्युँ गाउँपालिका६ बस्ने २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका८ नवदुर्गा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय भक्त राज जोशी समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका६ लालपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय करण नेपाली र २४ वर्षीय बाजी आउजी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, सिरहा नगरपालिका१७ कालिन्चोक चेकप्वाईन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका१ बस्ने ४३ वर्षीय सत्यन्द्र पंजियार र मिर्चैया नगरपालिका६ बस्ने २० वर्षीय सरोज कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय माडर सिराहा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०१(००४ प ४३३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका७ कर्णालीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका(१ बस्ने २९ वर्षीय दिपक थापालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, डुडुवा गाउँपालिका५ कम्दी बालापुर बस्ने ३७ वर्षीय राम चरण बर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम ७ सय ६० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका१५ डेरा गरी बस्ने तुल्सीपुर उपमहानगरपालिका७ कुमाल गाउँ घर भएका २६ वर्षीय सुवास विक, उनकै श्रीमती २६ वर्षीया सुनिता घर्ती र सोही उपमहानगरपालिका१४ भेटनरी टोल बस्ने २४ वर्षीया सोनु विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरू बस्ने कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका१ भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ५० मिलिग्राम सहित ईटहरी उपमहानगरपालिका४ मनकामना टोल बस्ने २७ वर्षीय सुरज कुमार ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।२० प ७४४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।