अमेरिकाबाट डिपोर्ट गरिएको तर स्वदेश नपुगेका ३०० जना आप्रवासी यतिबेला पानामाको होटलमा फसेका छन् । यहाँ राखिएकामध्ये धेरैजसो नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र चीनका नागरिकहरू भएको भन्दै साउथ चाइना मर्निङ पोष्टले एउटा समाचारमा भनेको छ ।
फर्कने व्यवस्था नभएसम्म उनीहरू सबै Tयही होटलमा राखिनेछ । यिनीहरूलाई होटलबाट बाहिर निस्कन अनुमति दिइएको छैन । अधिकारीहरूका अनुसार यहाँ रहेका ४० प्रतिशत भन्दा बढी आप्रवासीहरू आफ्नो देश फर्कन तयार छैनन् । होटलमा थुनिएका सबै आप्रवासीहरूको अवस्था धेरै दयनीय भएको बताइएको छ ।
केही आप्रवासीहरू सादा कागजमा लेखिएको सन्देश हातले बोकेर होटलको झ्यालहरूमा उभिएको पनि देखिन्थे । यसमा ‘मलाई मद्दत गर्नुहोस् र हामी हाम्रो देशमा सुरक्षित छैनौँ’ भनेर लेखिएको थियो । जानकारी अनुसार, सबै आप्रवासीहरू १० एसियाली देशका छन् । यिनीहरू मूलतः नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र चीनका हुन् । यी देशमा डिपोर्ट गर्न गाह्रो भएकोले अमेरिकाले पानामालाई यिनीहरू राख्ने ठाउँको रुपमा प्रयोग गरिररहेको छ ।
यसैबिच, पानामाका सुरक्षा मन्त्री फ्रान्क अब्रेगोले सबै आप्रवासीहरूले चिकित्सा सुविधा र खाना पाइरहेका दाबी गरेका छन् । यो सम्पूर्ण व्यवस्था अमेरिका र पानामा बीचको सम्झौता अन्तर्गत भइरहेको पनि उनले बताए । सम्पूर्ण अपरेशनको लागत अमेरिकाले बेहोरिरहेको भनिएको छ ।
यसैबिच, ट्रम्पको पानामा नहरको नियन्त्रण लिने धम्कीका कारण राजनीतिक दबाबमा रहेका पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले गत बिहीबार डिपोर्टीहरू बोकेर पहिलो विमान आउन लागेको बताएका थिए । खबरका अनुसार ३०० आप्रवासीमध्ये अहिलेसम्म १७१ जना अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा आ–आफ्नो देश फर्कन राजी भएका छन् ।
संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी (यूएनएचआरसी) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले बाँकी १२९ जनालाई कुनै तेस्रो देशमा पुनर्वास गराउन सकियोस् भनेर विकल्प खोजिरहेको भनिएको छ । आफ्नो देश फर्कन तयार नभएका आप्रवासीहरूलाई पानामाको डारियन प्रान्तको विशेष केन्द्रमा राखिनेछ ।


















