एक्समाथि ब्राजिलमा १४ लाख डलर जरिवाना

ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले माइक्रोब्लगिङ वेबसाइट एक्समाथि ८१ लाख मिलियन ब्राजिलियन रीसिस (करिब १४ लाख अमेरिकी डलर) जरिवाना तिराएका छन् । अदालतको आदेश अपहेलना गर्दै एक्सले एलन डस सैन्टोसको प्रोफाइलसँग सम्बन्धित पंजीकरण डेटा हस्तान्तरण गर्न अस्वीकार गरेको मामिलामा बुधवार जरिवाना लगाइएको हो ।

मोरेसले २०२४ को जुलाई मा एक्स र मेटालाई सैन्टोसको खाता ब्लक गर्न, उनीमाथि प्रतिबन्ध लगाउन र उनको डेटा उपलब्ध गराउन आदेश दिएका थिए । एक्सले आदेशको पालना गरेर खाता त ब्लक गर्यो, तर डेटा सङ्कलन नगरिएको र प्रयोगकर्ताको ब्राजिलसँग कुनै प्राविधिक सम्बन्ध नभएकोले अआफूसँग उनको डेटा नभएको दाबी गरेको थियो ।

तर न्यायाधीशले यो तर्कलाई अस्वीकार गरे । त्यसपछि, एक्सलाई डेटा दिन नसकेकोमा २०२४ को अगस्टसम्म दैनिक १ लाख ब्राजिलियन रीसिस ९करिब १७ हजार ५०० अमेरिकी डलर० जरिवाना लगाइयो ।

अक्टोबरसम्ममा जरिवानाको आकार ८१ लाख रीसिस पुगेको थियो । सुरुमा एक्सले यो जरिवाना विरुद्ध अपील गरेको थियो । तर पछि अदालतलाई जरिवाना तिर्न कम्पनी इच्छुक भएको बतायो । बुधवारको आफ्नो फैसलामा, अदालतले कम्पनीलाई तुरुन्तै पूरा रकम तिर्न आदेश दिएको छ । अदालतले अनुरोध गरे अनुसार एक्सले डेटा दियो कि दिएन भन्ने चाहिँ अस्पष्ट छ ।