‘मैथली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर छ’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कर्कीले मैथिली र लिम्बू भाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर रहेकोे प्रतिबद्धता व्यक्त गरेका छन्।

भाषाको प्रयोग सम्बन्धमा छलफल, कानुन निर्माण, स्क्रिप्ट अनुसन्धान, विकास र प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको उनले बताए । उनले सबै जातीय समूहका धर्म, संस्कृति र भाषाहरूको संरक्षण गरेर राष्ट्रिय एकता कायम राख्नुपर्ने कुरामा जोड दिए। उनले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई नैतिक शिक्षा, अनुशासन र दुव्र्यसन न्यूनीकरणका लागि रेडियोमा जोड्नुपर्ने सुझाव दिए। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विपद्को समयमा सरकारी सञ्चारमाध्यमले समाजलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे।

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले देशभरका विभिन्न जातीय समूहद्वारा बोलिने भाषाहरूको संरक्षणमा रेडियोको महत्वमाथि जोड दिएका छन् ।

कार्यक्रम संयोजक ताराप्रसाद वस्ती र तारणीप्रसाद कोइराला स्मृति सञ्चारगृह विराटनगरका निर्देशक पुष्करराज गौतमले सञ्चारगृहले गरेका कार्यबारे जानकारी गराएको थियो । अन्तरक्रियामा प्रदीप भगत, चन्द्र राजवंशी, सूर्यनारायण मुडियारी, उपप्राध्यापक महाप्रसाद खतिवडाले रेडियो नेपालले विभिन्न भाषामा प्रसारण गर्ने समाचारका सम्बन्धमा जिज्ञासा राखेको थियो ।