कान्ति बाल अस्पतालको सेवा बिस्तार गर्न स्वास्थ्य मन्त्रीले मागे जापानसँग सहयोग

कान्ति बाल अस्पताललाई १००० शय्यामा बिस्तार गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जापानलाई आग्रह गरेका छन् ।

नेपालका लागि जापानी राजदूत तोरु मायदासँगको भेटमा मन्त्री पौडेलले सहयोगका लागि आग्रह गरेका हुन् । बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भए पनि पर्याप्त पूर्वाधार नभएकाले सरकारको योजनामा साथ दिन पौडेलले राजदूतसमक्ष आग्रह गरेको मन्त्री पौडेल सचिवालयले जानकारी दिएको छ ।

भेटका क्रममा उनले मन्त्रालयले घोषणा गरेको एक्सरे फिल्म प्रयोग निरुत्साहित गरेर डिजिटल कपी वितरण गर्ने योजनामा समेत जापान सरकारबाट सहयोगको अपेक्षा गरेको बताएका थिए ।

मन्त्री पौडेलको आग्रहपछि राजदूत मायदाले अस्पताललाई सघाउन सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले कान्ति बाल अस्पतालको क्षमता विस्तार गरेर बढी क्षमतामा प्रभावकारी बाल उपचार उपलब्ध गराउने योजना सार्वजनिक गरेका थिए ।

त्यसलाई सफल पार्न विभिन्न क्षेत्रसँग सहकार्य र संवाद भइरहेको छ । यसैक्रममा जापान सरकारसँग सहकार्यको विकल्पबारे खोजी भएको मन्त्री पौडेलको सचिवालयले उल्लेख गरेको छ ।