निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (प्याब्सन)को नयाँ कार्यसमिति सदस्यहरुले शपथ ग्रहण गरेका छन्।
बुधबार काठमाडौंमा भएको २६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो कार्यकालमा प्याब्सनमा आवद्ध विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा गर्न थप भुमिका खेल्ने बताउनुभयो । उहाँले नेपालका निजी विद्यालयहरुले दिएको गुणस्तरीय शिक्षाका बारेमा विश्वभर चर्चा हुने गरेको भन्दै यसलाई निरन्तरता दिन शिक्षाको विश्वव्यापीकरण गर्ने दाबी गर्नुभयो । हालै सरकारले ल्याएको शिक्षा विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले कम्पनीअन्तर्गत रहेका निजी विद्यालयहरुलाई कम्पनीमै रहने र पुस्तान्तरण हुने व्यवस्था निरन्तरताका लागि आफूले पहल गर्ने बताउनुभयो ।
अध्यक्ष अधिकारीले प्याब्सनको सही कामले संस्थाको गरिमा बढेको दाबी गर्नुभयो । प्याब्सनको सहअध्यक्षमा गोपाल आचार्य, वरिष्ठ उपाध्यक्षमा दिपिका रिमाल, उपाध्यक्षहरुमा आशिष श्रेष्ठ, थकिन कुमार गुरुङ, महासचिव आर। बि। कटुवाल, कोषाध्यक्षमा गणेशबाबु पोखरेल, तथा केन्द्रिय सदस्यहरुमा प्रल्हाद खनाल र कर्मवाङ्गेल लामा निर्वाचित हुनुभएको छ ।


















