सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्ने माओवादी निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले शिक्षकका मागहरू सम्बोधनका लागि सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्ने निर्णय माओवादीले गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिविहिवार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक र सदनबाट सरकारलाई दबाब दिनुपर्ने भन्दै सांसदहरुलाई सोही अनुसार भूमिका खेल्न निर्देशन दिएका हुन् ।

उनले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका थिए । सो क्रममा अध्यक्ष प्रचण्डले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको समेत बताएका छन्।
अध्यक्ष प्रचण्डले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण उनलाई दुबै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको उल्लेख गर्दै भने, ‘यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो ।’

उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए ।
संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गरेको उल्लेख गर्दै उनले ती विधेयक संसदबाट पारित गराउन सबै सांसदहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।